पर्वतको चिसापानी लेकमा चिया खेती शुरु

पोखरा न्युज। पर्वतको महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीस्थित चिसापानीको लेकमा चिया खेती सुरु गरिएको छ । सोही गाउँपालिकाको वडा नं ६ फलामखानीमा चियाखेतीको सफल उत्पादन हुन थालेपछि लङ्खुदेउरालीमा पनि विस्तार गर्न थालिएको हो । चिसापानी लेकको खाली जमिनमा चियाका बिरुवा रोप्न थालिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिनुभयो । उहाँका अनुसार शुरुआतको चरणमा अहिले एक हजार बिरुवा रोपिने भएको छ ।

झण्डै एक दशकदेखि चियाखेती शुरुआत गरिएको फलामखानी र यहाँको हावापानी एकै प्रकृतिको छ । चिसापानी प्रशिद्ध धार्मिक एवं पर्यटकीयस्थलका रुपमा समेत विकास हुँदै गएको छ । यस वर्ष परीक्षणका रुपमा एक हजार बोट रोप्न थालिएको र बिरुवा हुर्कंदै गए तथा हावापानी मिले आगामी वर्षदेखि थप विस्तार गर्दै जाने उच्चैले जानकारी दिनुभयो । गाउँपालिकाले नियुक्त गरेका स्वयंसेवकलाई नै चियाका बिरुवा रोपणमा खटाइएको छ । उनीहरुले नै फलामखानीदेखि बिरुवा ल्याएर रोप्न थालेका छन् ।

केही दिनमै बिरुवा रोपेर सकिने उच्चैले बताउनुभयो । फलामखानीमा यस वर्ष झण्डै १२ हजार चियाका बिरुवा तयार गरिएको थियो । चिसापानी क्षेत्रमा चियाखेती विस्तारका लागि हजारौँ रोपनी क्षेत्रफल खाली भए पनि अहिले परीक्षणका लागि १० रोपनी जग्गामा मात्र बिरुवा रोप्न थालिएको हो । फलामखानीमा ६० हेक्टर क्षेत्रफलमा चिया खेती गरिएको छ ।

उत्पादित बिरुवामध्ये झण्डै १० हजारको सङ्ख्यामा फलामखानीकै विभिन्न क्षेत्रमा खेती विस्तार गर्ने योजनासमेत गाउँपालिकाले बनाएको छ । फलामखानीमा पनि अहिले बिरुवा रोप्ने काम भइरहेको वडाध्यक्ष रामबहादुर सुनारले जानकारी दिनुभयो । उच्च पहाडी क्षेत्रमा रहेको गाउँपालिकाका सबैजसो वडामा चियाखेतीको सम्भावना छ । गाउँपालिकालाई चियाखेतीबाट आत्मनिर्भर बनाउने उद्देश्यले चिया प्राधिकरण नै बनाएर निजी तथा साझेदारी मा खेती विस्तार गर्नेसमेत गाउँपालिकाको योजना छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button