पुस्तक किनेर टासीमा सजाउँदैमा ज्ञान आर्जन हुँदैनः सुरज उपाध्याय

नेपाली लेखकले पहिला आफ्नो देश चिन्नुपर्छ

राजाराम पौडेल । साहित्य क्षेत्रमा परिचित बनिसकेको नाम हो सुरज उपाध्याय । उहाँ विशेषगरी बाल साहित्यमा क्रियाशील हुनुहुन्छ । फेदीखोला २ स्याङ्जामा जन्मनुभएका उपाध्यायले पोखरामा बसेर आफ्नो साहित्य यात्रालाई अगाडि बढाइरहनुभएको छ ।

उहाँका प्रकाशित कृतिमा २०६० मा प्रकाशित तिम्रो मन फर्किएन गजल संग्रह र २०७३ मा प्रकाशित बाल कविता संग्रह चिल उड्यो आकाशमा हुन् । यतिबेला नयाँ कृति साइकल बालगीत प्रकाशन हुने तयारीमा छ । उहाँ कविता, गीत, गजल, कथा, लघुकथा, बाल गीत, बाल कविता, बाल कथा, मुक्तक लेखनमा सक्रिय हुनुहुन्छ । उहाँका रचना तथा सिर्जनामा माटोको सुगन्ध पाइन्छ ।

अक्षर यात्रा प्रतिभा पुरस्कार प्राप्त गरिसक्नुभएका उपाध्यायलाई बिशेष गरि गीत र बालसाहित्यमा कलम चलाउन मनपर्छ । उहाँले रचना गरेका केहि गीतहरु रेकर्ड पनि भएका छन् । केहि गीत रेकर्ड भएर सार्वजनिक हुने क्रममा समेत छन् । सर्घषले नै उहाँमा निखारता थपेको हो ।

उहाँ नेबिको प्रालिको सिनियर सेल्स अफिसरको रुपमा कार्यरत समेत हुनुहुन्छ । नेबिकोमा कार्यरत रहेको कारण दैनिक गुजारा चलाउन सहज बनेको छ । तर आजको अवस्थामा आइपुग्न धेरै दुःख गर्नुपर्‍यो । निरन्तरको मेहनतले नै उहाँलाई परिपक्क बनाउन सघायो । उहाँ पुस्तक प्रेमी हुनुहुन्छ । सकेसम्म पुस्तक किनेर नै पढ्ने बानी छ । वेदना साहित्यिक पत्रिका सम्पादन गरेको अनुभव उहाँसँग छ । साहित्यकार सुरज उपाध्यायसँग यसपाली पुस्तक अध्ययनसँग सम्बन्धित केही प्रश्न सोधेका छौ ।

पुस्तक कत्तिको पढ्नु हुन्छ ?
साहित्यतर्फ झुकाव बढ्दै जाँदा नयाँ–नयाँ पुस्तकहरु किनेर पढ्ने बानीको बिकास भयो । कुनै न कुनै पुस्तक पढिरहेकै हुन्छु । पछिल्लो समय बाल साहित्य र दर्शनका पुस्तकहरु पढिरहेको छु ।

कोर्षमा भएका पुस्तक र बाहिरी पुस्तक अध्ययन गर्दा हुने फरक ?

मेरो सानैदेखि कोर्षका पुस्तक भन्दा बाहिर पुस्तक पढ्ने बानीको विकास भयो । कोर्षका पुस्तक पढ्दा परीक्षालाई महत्व दिएर पढिन्छ । कसरी लेख्दा बढी नम्बर आउँछ भन्ने सोचाइ मनमा आउँछ । कलेजका पाठ्यपुस्तक र बाहिरी किताब अध्ययन गर्दा फरक त हुन्छ । मात्रै परीक्षा दिनको लागि मात्रै अध्ययन गरिएका पुस्तकहरुले ज्ञानको भण्डार बढाउन सक्दैनन् ।

धेरै मानिसहरू विश्वविद्यालय जान्छन् । पाठ्यक्रममा भएका विषयवस्तुको विश्वबिद्यालयमा अध्यापन गराइन्छ । त्यहाँ कुनै ऊर्जा जगाउने, विषयवस्तुसँग थप ज्ञान बढाउने पुस्तकहरू कहिल्यै पढाइँदैन र विद्यार्थीलाई पढ्नको लागि उत्प्रेरणा पनि कमै दिएको पाइन्छ । त्यसैले जीवन र जगतको यथार्थलाई बोध गर्नको लागि बाहिरी पुस्तकको अध्ययन गर्नै पर्छ । कोर्षमा भएको पुस्तकको अध्ययनले मात्रै धेरै कुरा बुझ्न सकिदैन ।

तपाईलाई मनपर्ने पुस्तक कुन कुन हुन् ?
मलाई सबैभन्दा बढी प्रभाव पारेको पुस्तक भनेको भूपि शेरचनको घुम्ने मेच माथिको अन्धो मान्छे भन्ने कविता संग्रह हो । यो कविता संग्रह अहिले पनि बेला–बेलामा पढिरहन्छु । आहुतिको उपन्यास नयाँ घर, घनश्याम ढकालको कथा संग्रह आजको महाभारत, बिपी कोइरालाको आत्मवृत्तान्त, नारायण ढकालको शोकमग्न यात्री, नयनराज पाण्डेको उलार, मनु बाज्राकीको तिम्री स्वास्नी र म मलाई साह्रै मनपर्ने पुस्तक हुन् ।

पुस्तक लेख्ने लेखक मध्येमा कुन लेखकको लेखन शैली मनपर्छ ?
मलाई सबैभन्दा बढी लेखन शैली मन पर्ने लेखक मनु ब्राजाकी हुन् । उनको लेखन शैली मलाई असाध्यै मन पर्छ । जुनसुकै विषय वस्तु लेखिएका कथाहरु भए पनि उनको लेखन शैलीले मलाई तान्ने गर्छ ।

लगातार कति समयसम्म पुस्तक पढ्नुहुन्छ ?
लगातर पुस्तक पढ्ने दैनिकी त छैन । समय छुटाएर पढ्ने पनि गर्दिन । फुर्सदको समयमा र पढ्न मन लागेको बेलामा पढ्छु । लगातार पढेको चाहिँ उपन्यास सेतो धरती हो । बिहान पढ्न बसेको थिए । काम मै नगइकन बेलुकासम्म त्यो उपन्यास सकेको थिए । कक्षा नौमा पढ्दा पुस्तकालयबाट लगेर मन उपन्यास पनि एकै बसाइँमा पढेको थिए । यतिबेला त प्राय साढे एक घण्टासम्म लगातार पढ्छु ।

तपाई पुस्तक पढ्ने माध्यम ?
प्रायः म पुस्तकहरु किनेरै पढ्ने छु । मागेर कमै पढ्छु । कुनै बेला पोखराको सार्वजनिक पुस्तकालयमा दिन भर बसेर पनि पुस्तक पढ्ने गर्थे । त्यतिबेला फुर्सदको समय पनि थियो । पुस्तक किन्ने पैसा हुँदैनथ्यो । पछिल्लो समय डिजिटल पुस्तकहरु पनि पढ्ने बानी परेको छ ।

पुस्तक अध्ययनसँग सम्बन्धित केही रमाइला वा नरमाइला अनुभव सुनाउनु ?
पुस्तक अध्ययनसँग सम्बन्धित त्यस्ता रमाइला वा नरमाइला अनुभव त मसँग खासै छैन । कक्षा नौ मा पढ्दाखेरि यौटा साथीले अश्लील उपन्यास झोलामा राखिदिएको रहेछ । शुरुमा अश्लील भन्ने थाहा भएन । पढ्दै जादा धेरै फोहोरी नै थियो उपन्यास । पढ्दापढ्दै बुबाले देख्नु भयो र गाली गर्नु भयो । छिटो–छिटो उपन्यास झोलामा लुकाए । अहिले तैले त्यो उपन्यास पढ्ने बेला भएको छैन । बिहे पछि पढ्ने हो भन्नू भयो । म रातो र कालो भए । आमालाई जोक गरेर ए बुढी छोराको बिहे गर्ने बेला भएछ भन्नू भयो । अहिले सम्झिदा लाज लाग्छ ।

पुस्तक किन पढ्ने ?
पुस्तक पढ्ने धेरै कारण हुन्छन् । परीक्षामा पास हुनको लागि । पढाउनको लागि । देश समाज चिन्नको लागि । आफ्नो ब्यक्तित्व विकास गर्नको लागि । जीवन र जगतको यथार्थबोधको लागि ।

नेपाली लेखकले पुस्तक लेख्दा के कुरामा ध्यान दिनुपर्छ ?
अचेल नेपाली लेखकहरु चर्चामा आउनको लागि बिदेशकाे परिवेश, विम्व उतार्न खोज्छन् । जस्ले आफ्नो परिवेश चिन्दैन । दैलामुनिको माटो सुगुन्ध थाहा पाउदैन । त्यो लेखकले दर्जनौं पुस्तक लेखे पनि देश चिन्न सक्दैन । नेपाली लेखकले आफ्नो देश चिन्नको लागि बिशेष ध्यान दिनु पर्छ ।

पाठकले कसरी पुस्तक छनोट गर्ने र पढ्ने केही तरिका भन्नुन ?
कुनै पनि पाठकले आफ्नो रुचि अनुसार पुस्तक छनौट गर्न सक्छन् । अचेलको युग बिज्ञापनको युग भएको छ । केही ठुला प्रकाशन गृहहरुले विज्ञापन जति गर्छन् त्यति कमसल पुस्तकहरु बजारमा ल्याएका छन् । पुस्तक छनौट गर्दा बजारमा आउने बित्तिकै बिज्ञापनकै आधारमा पुस्तक छनौट गर्नु उपयुक्त हुँदैन ।

राम्रो पुस्तक पछिसम्म चर्चामा हुन्छ । कुनै पुस्तक बजारमा आउने बित्तिकै किन्नुभन्दा पाँच छ महिना पछि किन्नु उपयुक्त हुन्छ । पढ्ने तरिका त आफ्नो आफ्नो हुन्छ नै । कसरी पढ्दा आफ्नो दिमागमा घुस्छ त्यसरी नै पढ्नु ठीक हुन्छ ।

अन्तमा पुस्तकप्रेमीलाई के भन्नुहुन्छ ?
अचेल पढ्नेभन्दा पनि टासीमा सजाउन कै लागि पुस्तक किन्ने चलन चलेको छ । सकारात्मक नै सोचौं यो समेत पुस्तकप्रतिको प्रेम नै हो । बिस्तारै किनेको पुस्तक पढ्ने मोह जाग्न सक्छ । विशेष गरि पुस्तक प्रेमीलाई पुस्तक किनेर टासीमा सजाउदैमा ज्ञान आर्जन गर्न सकिदैन । दिनको एक घण्टा भए पनि पढ्ने बानीको बिकास गरौं । पढौं र ज्ञान बाढौं भन्छु । धन्यवाद ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button