आफैँ हिँड्‌डुल गर्ने भइन् शिरमती

पाेखरा न्यूज । आर्थिक अभावमा करिब साढे सात महिनादेखि ओछ्यानमा थलिनु भएकी तनहुँकी शिरमती गुरुङ अब आफैँ हिँडडुल गर्न सक्ने हुनुभएकाे छ । आगोले पोलेको घाउ निको नभएपछि ओछा्यानमा थलिनु भएकी शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरे घरेडीकी ५७ वर्षीया गुरुङको दुवै खुट्टा नचल्ने भएको थियो । वडाध्यक्ष मनराज गुरुङले उद्धार गरेर अस्पताल पु¥याएपछि उहँ निको भएर घर फर्किनु भएकाे छ ।

घाउ निको भएर खुट्टा चल्न थालेपछि उहाँ आफैँ हिँडडुल गर्न सक्ने भएको वडाध्यक्ष गुरुङले बताउनु भयाे । हरियोखर्क अस्पताल पोखरामा ३५ दिनको उपचारपछि शिरमतीलाई शुक्रबार डिस्चार्ज गरेर घर ल्याइएको उहाँले बताउनु भयाे । उहाँका अनुसार उपचारमा करिब दुई लाख रुपैयाँ खर्च भएको छ । दुई लाख ५० हजार रुपैयाँ शिरमतीको उपचारका लागी आर्थिक संकलन भएको वडाध्यक्ष गुरुङले जानकारी दिनु भयाे । ‘बचत भएको ५० हजार रुपैयाँ पनि शिरमतीको परिवारलाई दिने हो’, उहाँले भन्नुभयाे ।

२३ माघ २०७७ मा नुहाउन पानी तताउने क्रममा आगोले शिरमतीको शरीर जलेको थियो । श्रीमान् यामबहादुरका अनुसार शरीर जलेपछि पोखराको मेडिप्लस हस्पिटलमा १४ दिन उपचार गराइएको थियो । ज्यालामजदुरीको भरमा दैनिक गुजरा चलाउँदै आउनु भएका गुरुङले पैसा सकिएपछि घाउ नओभ्याउँदै अस्पतालबाट घर ल्याउनु भयाे । यामबहादुर भन्नुहुन्छ, ‘ऋणधन गरेर उपचारमा दुई लाख रुपैयाँ खर्चिए । पैसा सकिएपछि घाउ निको नहुँदै घर फिर्ता ल्याउनुपर्‍यो’ उहाँले भन्नुहुन्छ, ‘अरु पैसा जुटाउन सक्ने अवस्था नभएकाले घाउ निको नहुुँदै घरमा फर्काएँ ।’

वडाध्यक्षले अस्पताल पुर्‍याएर उपचार पाएपछि श्रीमती हिँड्न सक्ने भएको उहाँले बताउनु भयाे । ‘अलि अलि आफैँ हिँड्न सक्ने भएको छ । एक महिनापछि फेरि डाक्टर बोलाएको छ’, यामबहादुर भन्नुभयाे । ओछ्यानमा थलिएको श्रीमती निको भएपछि खुसी लागेको उहाँको भनाइ छ । ‘उपचार होला, निको होला भन्ने सोच नै थिएन् । आफुसँग पैसा थिएन् । कहिल्यै उपचार गारउन सक्दिन होला भन्ने लाग्थ्यो’, उहाँले सुनाउनु भयाे ।

१४ दिनको उपचारपछि घरमा आएकी शिरमतीको साढे सात महिनासम्म आगोले पोलेको घाउ निको भएको थिएन । घाउसँगै कम्मरमुनिको भाग पनि चल्न छोड्यो । आर्थिक अभावकै कारण थला परेकी श्रीमतीलाई उपचार गर्न अस्पताल लैजान नसकेको यामबहादुर बताउनु हुन्छ । ३ भदौमा वडाध्यक्ष गुरुङले थलापरेकी शिरमतीलाई हरियोखर्क अस्पताल पोखरा पुर्‍याउनु भएकाे थियाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button