राष्ट्रिय ए डिभिजन फुटसल लिग : लिग चरण सकियो

शंखमुललाई हराउँदै अर्को घरेलु टोली प्ले अफमा

पोखरा न्यूज ।  घरेलु टोली सविन मेमोरियल राष्ट्रिय ए डिभिजन लिगको प्ले अफमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न लिग चरणको अन्तिम खेलमा सविनले शंखमुललाई ३–१ गोल अन्तरले हराउँदै प्ले अफमा प्रवेश गरेको हो ।

पोखरा रंगशाला बहुउद्देश्यीय कभर्डहलमा भएको अत्यन्तै प्रतिस्पर्धात्मक लिगको अन्तिम खेल सविनलाई जित्नै पर्ने दबाब थियो ।  सविनले २० औँ मिनेटमा समीर प्रधानले गोल गर्दै अग्रता दिलाए ।  पहिलो हाफमा १–० ले अघि रहेको सविनले दोस्रो हाफमा थप २ गोल गर्दै जित हासिल गरेको हो ।

खेलको २४ औँ मिनेटमा मनिष क्षेत्रीले गोल गर्दै अग्रता दोब्बर पारे । २५ औँ मिनेटमा शंखमुलका सुशान श्रेष्ठले गोल गर्दै २–१ को स्थिति बनाएपछि सविन सविन दबाबमा परेको थियो । ३४ औ मिनेटमा सुनिल विकले गोल गर्दै जित निश्चित गरे ।

सविनको कुल ९ खेलबाट १६ अङ्कका साथ तालिकाको चौथो स्थानमा रहन सफल रह्यो । सविनले पाँच खेलमा जित, ३ खेलमा हार र १ खेलमा बराबरी खेलेको थियो ।

यता हार बेहोरेको शंखमुल पनि तालिकाको तेस्रो स्थानमा रहेको छ । शंखमुललाई हारले दोस्रो स्थानमा उक्लिनबाट रोके पनि प्ले अफका लागि कुनै असर गरेन । खेलको म्यान अफ दि म्याच मनिष क्षेत्री घोषित भए ।

मंगलबार भएको¬ पहिलो खेलमा प्रभातफेरीले फुटसल ५ धरानलाई ६–२ गोल अन्तरले पाखा लगायो । प्रभातफेरीको जितमा डोना थापा र धिरज जोशीले २/२ तथा सन्तलाल गुरुङ र विवेक सारुमगरले १/१ गोल गरे ।

प्रभातफेरीले फुटसल ५ धरानलाई सुरुवात देखि नै निकै दबाबमा राख्यो । प्रभातफेरीका लागि धिरज गुरुङले खेलको पाँचौँ मिनेटमा २ गोल गर्दै अग्रता दिलाए । १ मिनेटको अन्तरालमा धिरजले २ गोल गर्दै प्रभातफेरीलाई २–० को अग्रता दिलाए । १७ औँ मिनेटमा सन्तले गोल गर्दै प्रभातफेरीको अग्रता तेब्बर पारे । २० औँ मिनेटमा फुटसल ५ धरानका कप्तान सन्दीप कार्कीले गोल गर्दै अग्रता घटाए । पहिलो हाफमा ३–१ ले अघि रहेको प्रभातफेरीले दोस्रो हाफमा समेत ३ गोल गर्दै फराकिलो जित निकालेको हो । २५ औँ मिनेटमा डोना थापाले गोल गरे । २६ औँ मिनेटमा विवेकले गोल गर्दै अग्रता फराकिलो पारे । खेलको ३० औँ मिनेटमा फुटसल ५ का लागि नयल श्रेष्ठले गोल गर्नु नै फुटसलका लागि अन्तिम गोल रह्यो । उता प्रभातफेरीका लागि डोनाले ४० औँ मिनेटमा व्यक्तिगत तथा छैटौँ गोल गरे । प्रभातफेरीका धिरजले २३ औँ मिनेटमा रातो कार्ड पाउँदै बाहिरीए पनि फुटसल ५ धरानले त्यसको मौका भने उठाउन सकेन । २ मिनेटसम्म प्रभातफेरी ४ खेलाडीमा सीमित भएका थिए । खेलको म्यान अफ दि म्याच प्रभातफेरीका आशिष् डंगोल घोषित भए ।

जितसँगै प्रभातफेरी कुल ९ खेलबाट १० अङ्कका साथ तालिकाको ८ औँ स्थानमा रहँदै लिग चरणबाट बाहिरिएको छ । प्रभातफेरीले ३ खेलमा जित, ५ खेलमा हार र १ खेल बराबरी खेलेको थियो । समान खेल खेलको फुटसल ५ धरानको भने १४ अंक रहेको छ । धरानले ४ खेलमा जित,३ खेलमा हार र १ खेल बराबरी खेलेको थियो ।

दोस्रो खेलमा ढुकु फुटसल हबले झरना स्पोर्ट्स क्लबलाई ५–३ गोल अन्तरले हरायो । जितसँगै ढुकुको ९ खेलबाट १३ अंक रहे पनि लिग चरणबाट बाहिरिएको छ । ढुकुले ४ खेलमा जित, ४ खेलमा हार र १ खेल बराबरी खेलको थियो । ढुकुको जितमा सुमन तामाङ, दावा दुक्पा शेर्पा, अमित लामा, प्रसिद्ध मगर र उर्केन शेर्पाले गोल गरे । झरनाका लागि गंगा गुरुङ, प्रवेश खनाल क्षेत्री र अमित गुरुङले गोल गरे । खेलको म्यान अफ दि म्याच अमित लामा घोषित भए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button