अनिष्ट हुने डरले जमरा नराख्ने माझी समुदाय

पाेखरा न्यूज । बागलुङ नगरपालिका-१ खनियाबासका कृष्ण माझी ३४ वर्षका हुनुभयाे । उहाँले जाने बुझेदेखि नै घरमा दसैंको टीका लगाउने गरिएको छ । टीका लगाए पनि घरमा जमरा राखेको भने उहाालाई स्मरण छैन ।

घरमा जमारा नराखे पनि उहाँहरू विजया दशमीको दिन टीकासँगै जमरा भने लगाउनुहुन्छ । आफ्नै घरमा जमरा नराख्ने हुँदा टीकाको दिन जमरा माग्न अर्को समुदायमा जाने गरेको उहाँले बताउनुभयाे । घरमा जमरा राखे अनिष्ट हुने भनेर पहिलेदेखि नै भनिँदै आएकाले माझी समुदायमा पुस्तौँदेखि यसरी नै जमरा मागेर टीका लगाइन्छ ।

‘यही जन्मे, यही हुर्के,’ ३४ वर्षीय माझीले भन्नुहुन्छ, ‘अहिलेसम्म जमरा राखेको थाहा छैन । हाम्रो समुदायमा पहिलेदेखि नै चलेको चलन हो । त्यो परम्परालाई नयाँ पुस्ताले पनि निरन्तरता दिएका छन् ।’

खनियाबासमा बिवाह गरेर आउनु भएकी फूलमाया माझीले पनि दसैंमा आफ्नै घरमा जमरा राख्ने नगरेको बताउनुभयाे । फूलमायाकी सासुलाई पनि पनि घरमै जमरा राखेको याद छैन । उहाँले भन्नुभयाे, ‘पहिलेदेखि राख्दैनथे हामीले पनि राख्ने आँट गरेनौं ।’

तर फूलमायाको माइतीघरमा भने माझी नै भए पनि जमरा राख्थे । ‘माझी भए पनि हाम्रो माइतीमा त जमरा राख्नुहुन्थ्यो,’ उहाँले भन्नुभयाे, ‘खैं कुन्नी किन हो, यहाँ त जमरा नराख्ने चलन रहेछ । जिजु बाजेको पालामा त जमरा राख्थे रे, कुन्नी के नराम्रो घटना भएपछि राख्न छाडेको भन्ने सुनिन्छ,’ उहाँले थप्नुभयाे, ‘खनियाबास र मालढुङ्गाका माझी समुदायमा भने घरमा जमरा राख्ने चलन रहेनछ ।’

जमरा नराखे पनि धुमधामसँग दसैं

घरमा जमरा नराखे पनि माझीहरूले दसैं धुमधामसँग मनाउँछन् । अर्काको घरबाट जमरा ल्याएर भए पनि टीकासँग जमरा लगाउँछन् । मिठो खाने र नयाँ लुगा लगाउनेमा पनि अन्य समुदायकै जस्तै परम्परा छ ।

खनियाबासका ६७ वर्षीय सोमबहादुर माझीले जिजुबाजेको पालादेखि नै घरमा दसैंका लागि जमरा राख्न छोडेको बताउनु भयाे । ‘जुन वर्ष जमरा राख्यो त्यो वर्ष घरकी कन्याको मृत्यु भएछ । सोही कारण जमरा राख्न छोडेको रहेछ,’ उहाँले भन्नुभयाे, ‘जमरा राख्दा वर्षैपिच्छे घरकी छोरीको मृत्यु हुने गरेका कारण जमरा नराख्ने भनेर सल्लाहमै निर्णय गरेको विश्वास छ ।’ अन्यत्रका माझी समुदायले भने जमरा घरमै राखेर दसैंमा लगाउने गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button