मादीका बाढी पीडितलाई प्रदेश सरकारको राहत

पोखरा । गण्डकी प्रदेश सरकारले कास्कीको मादी गाउँपालिका १ सोंदा र आसपासका बाढीपीडितलाई राहत रकम प्रदान गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बुधबार सोंदामै पुगेर राहत रकम हस्तान्तरण गर्नुभएकाे हाे ।

असार १ गते मादी नदीमा आएको बाढीले घरबाट पूर्ण क्षति पुगेका ११ घर परिवारलाई जनही १ लाख रुपैयाँका दरले मुख्यमन्त्री पोखरेलले राहत हस्तान्तरण गर्नुभएकाे हाे । बाढी पहिरोले घर पूर्ण क्षति पुगेकाहरुलाई मनाङको हकमा २ लाख र अरु जिल्लाका हकमा १ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय प्रदेश सरकारले गरेको थियो । उक्त अवसरमा भौमाया जैशी, चित्रकुमार गुरुङसेनी, टेकबहादुर गुरुङ, पुष्पा गुरुङ, हर्कबहादुर गुरुङ, लक्ष्मी गुरुङ, चित्रबहादुर गुरुङ, बोधराज बराल, हुमप्रसाद गुरुङ, केशबहादुर गुरुङ, दूधराज गुरुङलाई  राहत प्रदान गरिएको हो ।

कार्यक्रममा मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार जहिले पनि नागरिकको सुख दुखमा सँधै साथमा रहेको बताउनु भयाे । बाढी पहिरोले मादीमा धेरै क्षति भएको आफूले देखिसकेको भन्दै उहाँले बाढी लगत्तै बाटोघाटो खुलाउनका लागि केही रकम प्रदान गरेको र अब पनि थप रकमका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भयाे ।

कार्यक्रममा बिना विभागीय मन्त्री डोवाटे विश्वकर्माले २०७२ सालको भूकम्पपछि मुलुकमा धेरैथरी विपत्ती आएको भन्दै यी विपत्तीलाई सामना गर्न सबै एक भएर लाग्नुपर्नेमा जोड दिनुभयाे । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापाले मुख्यमन्त्रीले पीडितको घरदैलोमै पुगेर राहत वितरण गर्दा नागरिकले प्रदेश सरकारको अनुभूति गरेको बताउनु भयाे ।
गण्डकी प्रदेश सभामा माओवादी केन्द्रका तर्फबाट प्रमूख सचेतक गायत्री गुरुङले बाढी आएदेखि नै आफूहरुले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको भन्दै ढिलै भए पनि राहत वितरण हुँदा खुसी लागेको बताउनु भयाे ।

गण्डकी प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मीले प्रक्रिया पूरा गर्ने क्रममा राहत वितरण गर्न केही ढिलाइ भएको बताउनु भयाे । बाढीपहिरोले घर पूर्ण क्षति पुगेकाहरुकाे हकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पनि रकम उपलब्ध गराउने भएकाले यसका लागि जनप्रतिनिधिले पहल गरिदिन आग्रह आग्रह गर्नुभयाे ।

कार्यक्रममा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाही, मादी गाउँपालिका १ का वडाध्यक्ष सुरज गुरुङ, वडा नम्बर ७ का वडाध्यक्ष लालबहादुर गुरुङ लगायतले बोल्नुभएकाे थियाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button