करेन्ट लागेर मृत्यु भएका युवककाे परिवारलाई १६ लाख क्षतिपुर्ति दिने सहमति

पाेखरा न्यूज । करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएका तनहुँको शुक्लागण्डकी नगरपालिका–३ दुरुङचुङका २७ बर्षीय चित्रबहादुर राना मगरको परिवारलाई विद्युत व्यवस्थापन समितिले १६ लाख रुपैयाँ क्षतिपुर्ति दिने भएको छ । विद्युत व्यवस्थापन समितिको लापर्वाहीका कारण मृत्यु भएकाले २५ लाख रुपैयाँ क्षतिपुर्ति पाउनुपर्ने माग राख्दै आफन्तले शव बुझ्न मानेका थिएनन् ।

ग्रामीण पूर्वाधार तथा वातावरण विकास मञ्च दुलेगौँडाले मृतकका परिवारलाई १६ लाख रुपैयाँ क्षतिपुर्ति उपलब्ध गराउने गरी शुक्रबार सहमति गरेकाे हाे । सहमति भएसँगै शव दमौली अस्पतालमा पोष्टमार्टम गरी नागढुंगा शवदाह गृह बेलचौतारामा अन्त्येष्टि गरिएको छ ।

समितिले एक लाख रुपैयाँ किरिया खर्च बापत आइतबार उपलब्ध गराउने सम्झौता गरेको छ । बाँकी १५ लाख रुपैयाँ २५ पुसभित्र उपलब्ध गराउन सहमत भएको हो । यस्तै, घाइतेको उपचार र यातायात खर्च पनि समितिले व्यहोर्ने भएको छ । बिहीबार बिहान ४ बजे ट्रान्सफर्मरमा आगलागी हुदाँ गाउँमा हाइभोल्टेज करेन्ट प्रवाह भएको थियो । बिहान ७ बजे चित्रबहादुर आफ्नै कोठामा हातमा मोबाइल लिइरहेको अवस्थामा अचेत भेटिएका थिए । स्थानीयका अनुसार उनको दाहिने हात, मोबाइल र चार्जर समेत जलेको थियो । उपचारका लागि बेलचौतारास्थित जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

करेन्ट लागेर दुरुङचुङका थप दुई जना घाईते भएका थिए । उपचाररपछि घाईते दुबै निको भएका छन् । विद्युत व्यवस्थापन समितिको लापरवाहीले ट्रान्सफर्मरमा फ्युज नराखिकन करेन्ट प्रवाह गर्दा घटना भएकाे स्थानीयको आरोप छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button