१०औँ महाधिवेशनका लागि प्रतिनिधि छान्दै एमाले, गण्डकीबाट छानिए सर्वसम्मत

पोखरा न्यूज ।  नेकपा (एमाले) आज शनिबार एकैदिन देशभर महाधिवेशन प्रतिनिधि चयन गर्दैछ ।  वडा, नगर/गाउँ अधिवेशन सम्पन्न गरिसकेको एमालेले १०-१२ मंसिरमा चितवनमा हुने १०औँ महाधिवेशनका प्रतिनिधि चयन गर्न लागेको हो । यद्यपि, कतिपय जिल्लामा सहमतिका आधारमा यसअघि नै प्रतिनिधि चयन भइसकेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन प्रतिनिधि चयनको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गर्दै उच्च समझदारीका आधारमा प्रतिनिधि चयन गर्न आग्रह गरिसकेका छन् ।

एक निर्वाचन क्षेत्रबाट पार्टीका एक हजार दुई सदस्य बराबर तीन जना प्रतिनिधि छनोट गर्ने व्यवस्था एमालेले गरेको छ । जसमा एक जना महिला अनिवार्य गरिएको छ। यसअघि एक हजार पाँच सय सदस्य बराबर तीन जना छनोट गर्ने व्यवस्था रहेको थियो ।

एक हजार दुई सयभन्दा बढी सदस्य भएको निर्वाचन क्षेत्रमा थप प्रतिनिधि छनोट गर्ने व्यवस्था छ। यस अनुसार, आठ सय जना बराबर एक जना महाधिवेशन प्रतिनिधि छनोट गरिनेछ।

एमाले प्रचार विभागका अनुसार संगठित सदस्यको संख्या आठ लाख नाघिसकेको छ । एमालेले महाधिवेशनका लागि १ हजार ९ सय ९९ प्रतिनिधि छनौट गर्दै छ। प्रदेश र सोसरहका कमिटीबाट २ महिलासहित ५ जना प्रतिनिधि चयन हुने छन् ।

महाधिवेसनका लागि नेकपा एमालेले गण्डकी प्रदेश कमिटिबाट सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि छानेको छ । शनिबार प्रतिनिधि छनोटको कार्यतालिका भएपनि गण्डकी प्रदेश कमिटीले आफ्नो भागमा पर्ने ५ जनाको नाम शुक्रबार नै टुंग्याएको हो ।

खुलाबाट शोभियत ढकाल, माधब बास्तोला, लिला राना सर्वसम्मत रुपमा चयन भएका छन् । महिला तर्फ गण्डकी प्रदेश सभा सदस्य पुष्पा केसी भण्डारी र कृष्णकुमारी श्रेष्ठलाई चयन गरिएको एमाले गण्डकीका कार्यालय सचिव गोविन्द नेपालीले जानकारी दिए । जिल्ला तहबाट प्रतिनिधि छनोट भने शनिबारसम्म टुंगो लगाउँदै छन् ।

लुम्बिनी प्रदेशका २६ वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधि छान्न नेताहरू शुक्रबारदेखि नै सर्वसम्मतको प्रयासमा छन् । शुक्रबार बिहानदेखि भएको सर्वसम्मतिको प्रयास अधिकांश निर्वाचन निर्वाचन क्षेत्रमा सफल हुन सकेको छैन ।  एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष लिला गिरीले  अन्य जिल्लाका निर्वाचन क्षेत्रमा पनि सर्वसम्मतको प्रयास जारी रहेको र शनिबार साँझसम्म टुंग्याउने गरी प्रयास गरिरहेको बताउनुभयो  ।

लुम्बिनीका रुपन्देही, दाङ, बाँके लगायतका जिल्लाबाट सबैभन्दा धेरै प्रतिनिधि चयन हुँदैछन् । यी जिल्लामा आकांक्षी धेरै हुँदा मिलाउन सकस देखिएको छ । ‘समय लगाएर भएपनि सर्वसम्मत प्रतिनिधि चयनको प्रयास गर्छौं,’ अध्यक्ष गिरीले भन्नुभयो  ।

यता  रोल्पा र पाल्पा-१ मा सर्वसम्मत प्रतिनिधि छनोट भएका छन् । रोल्पाबाट महिला कोटामा जुनमाया बुढा र इश्वरी जिएम, दलित कोटाबाट रिमा नेपाली र खुल्लातर्फ कुमार दशौंदी, पूर्ण बुढामगर, बालाराम बुढामगर र शान्तकुमार वली चयन भएको एमाले रोल्पा जिल्ला अध्यक्ष बालाराम बुढाले बताउनुभयो  ।

१५ जना प्रतिनिधि सहभागी हुने पाल्पा-१ मा ६ जना सर्वसम्मत भएका छन् । जसमा दुई महिला र चारजना पुरुष छन् । २ मा पनि सहमतिको प्रयास जारी राखिएको एमाले पाल्पाका अध्यक्ष नारायण आचार्यले जानकारी दिनुभयो  ।

१८ जना प्रतिनिधि चयन हुने गुल्मीमा पनि सर्वसम्मत रुपमा प्रतिनिधि छनोटको प्रयास जारी छ । यसका लागि जिल्ला अध्यक्ष मधुकृष्ण पन्तसहितको सचिवालयलाई जिम्मेवारी दिइएको छ । ४३ जना आकांक्षीले हस्ताक्षर गरेर नेतृत्वलाई सर्वसम्मत रुपमा प्रतिनिधि छनोटको अधिकार दिएकाले शनिबार साँझसाँ टुंगो लगाइने अध्यक्ष पन्तले बताउनुभयो  ।

लुम्बिनीमा सबैभन्दा धेरै प्रतिनिधि रुपन्देहीबाट छानिँदै छन् । ३३ जना प्रतिनिधि छानिने रुपन्देहीमा आकांक्षी भने धेरै हुँदा नेतृत्वलाई व्यवस्थापनमा समस्या देखिएको छ । जिल्लामा १ सय जनाभन्दा धेरै आकांक्षीले महाधिवेशन प्रतिनिधि छान्न लविङ गरिरहेका छन् ।

कपिलवस्तुमा दलित कोटाबाट दुई जना सर्वसम्मत चयन भएका छन् । अन्यको टुंगो लागेको छैन । १९ जना प्रतिनिधि चयन हुने कपिलवस्तुमा पनि आकांक्षी धेरै हुँदा समय लागेको र सहमतिमै प्रतिनिधि चयन गर्ने प्रयास भैरहेको नेता भेषराज पाण्डेले बताउनुभयो  ।

एमाले अर्घाखाँचीका नेता शोभाखर पाण्डेले प्रतिनिधि छान्ने काम शनिबार सकिने बताउनुभयो । सहमतिको प्रयास अन्तिम चरणमा पुगेको र जिल्लाबाट छानिने १६ जना प्रतिनिधिलाई सर्वसम्मत बनाइने उहाँले बताउनुभयो  । बाँके र बर्दियामा पनि सहमतिमा प्रतिनिधि छनोटको प्रयास भैरहेको एमाले लुम्बिनी प्रदेश अध्यक्ष गिरीले बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button