चितवन आएर माधव नेपालले भने–एमाले इतिहासको विषय बन्दै छ

पाेखरा न्यूज । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले इतिहासको विषय बन्न लागेको टिप्पणी गर्नुभएकाे छ। एमालेले चितवनमा हुन लागेको १०औँ महाधिवेशनको तयारी गरिरहेका बेला शुक्रबार चितवन आउनु भएका नेपालले साे टिप्पणी गर्नुभएकाे हाे ।

जिल्ला पार्टी कार्यालय उद्घाटन र कार्यकर्तालाई प्रशिक्षण दिन चितवन आउनु भएका नेपालले भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै चुनावमा कसले कसलाई पछार्छ भन्ने कुरा राष्ट्रिय सभाको चुनावमा देखिसकेको बताउनु भयाे । आगामी चुनावमा पनि मिलेरै जाने उहाँले बताउनु भयाे ।

‘कतिपय पार्टी र नेताको सातो गइसकेको छ । होस् गुम भइसकेको छ’, उहाँले भन्नुभयाे, ‘समाजवादीको नाम सुन्ने बित्तिकै काम्छन् । कसले कसलाई पछार्छ भन्ने कुरा त अस्तिकै राष्ट्रिय सभाको चुनावमा देखिसक्यो । पहिल्यै परीक्षण भइसकेको छ । एमाले इतिहासको विषय बन्दै छ ।’

नेकपा एमालेका अध्यक्ष केपी ओलीले १५ कात्तिकमा चितवन आएर पाँच दलीय गठबन्धनलाई एमालेले धोबीले लुगा पछारेझैँ पछार्नुपर्ने बताउनु भएकाे थियाे ।

एमालेको महाधिवेशनको विषयमा आफूलाई कुनै चासो नभएको नेपालले बताउनुु भयाे । एमालेको महाधिवेशनमा पाहुना भएर जान आफूलाई समय पनि नरहेको उहाँले बताउनु भयाे ।

‘हामी डेमोक्रयाटिक पद्धतिबाट अघि बढ्ने मान्यता राखेको मान्छे । सबैको मान र सम्मान हुनुपर्छ भन्ने मान्यता राखेको मान्छे । त्यसो हुनाले नबोलाएको ठाउँमा पाहुना बन्नु हुँदैन । कसैको पाहुना हुनुपर्ने केही चासो छैन, मतलब पनि छैन । हामी आफ्नै काममा यति व्यस्त छौँ कि फुर्सदै छैन’, उहाँले भन्नुभयाे ।

जनता र कार्यकर्ताहरूको आकर्षण आफ्नो पार्टीमा देखिएको भन्दै उहाँले पार्टीको विकास देखेर धेरै मानिसमा इर्ष्या देखिएको बताउनु भयाे । इर्ष्या भएरै आफूहरूलाई महाधिवेशनमा नबोलाउने कुरा एमालेले गरेको उहाँले संकेत गर्नुभयाे ।

प्रधानन्यायाधीशको विषयमा दिएनन् चासो

प्रधानन्यायाधीशको विषयमा सर्वाेच्चमा देखिएको समस्याबारे उहाँले खासै चासो दिनुभएन । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा र उहाँको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीहरूको विषयमा दलहरू किन नबोलेको भनि गरिएको प्रश्नमा उहाँले भन्नुभयाे, ‘हाम्रो एजेण्डा त पार्टी बनाउने हो । पार्टीको अभियानलाई देशव्यापी रूपमा फैलाइरहेका छौँ ।

प्रधानन्यायाधीश प्रकरणमा प्रधानमन्त्री र राजनीतिक दलहरूले ध्यान दिनुपर्ने बताउँदै उहाँले यस विषयमा पाँच दलीय गठबन्धनमा छलफल गरिएको बताउनुभयाे।

सर्वाेच्च अदालतमा देखिएको समस्याको समाधान अदालतले नै गरोस् भनेर गठबन्धनले धारणा बनाएको उहाँले बताउनु भयाे । त्यस्तै प्रधानमन्त्रीले पनि चासो राखेर सम्बन्धित निकायका प्रतिनिधिसँग छलफल गरि निकास निकाल्ने उहाँले बताउनु भयाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button