पोखरा विश्वविद्यालयले ल्यायो शिक्षण अस्पताल सञ्चालनमा

पोखरा विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालनमा ल्याएको छ । बुधबार उक्त विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्यालले अर्थोपेडिक ओपिडी र विश्वविद्यालयका रजिस्ट्रार प्रा डा दीपकबहादुर भण्डारीले स्त्री तथा प्रसूति ओपिडीको शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा पहिलो बिरामीका रूपमा स्थानीय महिला सुशीला रेग्मीलाई प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा मदन खड्काले उपचार गरी कार्यको थालनी गरिएको थियो । उपकुलपति प्रा डा अर्यालले शिक्षण अस्पताल विश्वविद्यालयका लागि अपरिहार्य रहेकाले त्यसको सुरूआत गर्न सकिएकामा आफू अत्यन्तै भाग्यमानी रहेको बताउनुभयो ।

विश्वविद्यालयले हालै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग स्वास्थ्यका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको उल्लेख गर्दै उपकुलपति अर्यालले विश्वविद्यालयको स्तरोन्नतिका लागि विद्यार्थी सङ्ख्या बढाउनुपर्नेमा जोड दिनुभयो । विश्वविद्यालयले देशका विभिन्न भागमा आङ्गीक क्याम्पस खोल्ने तथा दुई वर्षभित्र एमबिबिएसको पठनपाठन सुरू गर्ने प्रतिबद्धता अर्यालको छ ।

हाल एक जना प्रसूति तथा स्त्रीरोग विशेषज्ञ एवं एक जना अर्थोपेडिक सर्जन गरी दुई जना डाक्टरमार्फत १० बजेदेखि २ बजेसम्म टिकट शुल्क लिएर बहिरङ्ग सेवा (ओपिडी) सञ्चालन हुने बताइएको छ । दुई जना मेडिकल अफिसरसमेतको सहयोगमा जनरल मेडिसिन, अन्य चोटपटक, दुर्घटनासम्बन्धी बिरामीको जाँच हुनेछ ।

अस्पतालमा दैनिक एक सयदेखि दुई सय जनासम्मलाई ओपिडीमा सेवा दिन अस्पताल जनशक्ति तम्मतयार रहेको जनाइएको छ । आकस्मिकका लागि १० शैया र ९० साधारण शैया राख्ने गरी कार्य अगाडि बढाइने जानकारी विश्वविद्यालयलले दिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button