नयाँ वर्षमा पोखराको खपौदीमा ‘फस्ट खपौदी कार्नीभल’ हुने

पोखरा,  २५ चैत । नेपाली नयाँ वर्ष २०८० को अवसरमा पोखराको खपौदीमा मेलाको आयोजना गरिने भएको छ । फेवा पर्यटन विकास समितिले चैत ३० र बैसाख १ गते दुई दिनको समय पारेर ‘फस्ट खपौदी कार्नीभल’ आयोजना गर्न लागेको हो ।

शनिबार चलचित्र पत्रकार संघ कास्कीको समन्वयमा पोखरामा भएको पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष अर्जुन सुवेदीले यस अघिको प्याराग्लाइडिङ ल्याण्डिङ हुने स्थानमा दुई दिने मेला आयोजना हुने जानकारी दिए ।

पछिल्लोसमय फेवातालको उत्तर तर्फको गैह्राको चौतारादेखि चंखपुर पामेसम्मको क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षणको केन्द्रविन्दु भएका कारण सोही क्षेत्रलाई मध्यनजर गर्दै मेलाको आयोजना गरिएको उनले बताए ।

‘फेवा पर्यटन विकास समिति विगत पाँच वर्षदेखि पर्यटनको क्षेत्रमा क्रियाशील संस्था हो । हामीले संस्थाको उद्धेश्य अनुरुप गतिविधिलाई तीव्रता दिंदै पर्यटनको विकास गर्न यो कार्यक्रमको आयोजना गरेका हौं’, अध्यक्ष सुवेदीले भने ।
चैत ३० गते साँझबाट अनौपचारिक रुपमा सुरु हुने कार्यक्रमलाई बैसाख १ गते औपचारिकता दिएर बेलुका समापन गर्ने तयारी गरिएको उनले बताए ।

मेलाको सांस्कृतिक संयोजक रहेका सुभाष भट्टराईले मेलामा लाइभ ब्याण्ड र डिजे सेसनसहित ख्याती प्राप्त कलाकारको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहने बताए । अल्फान्जो रिर्सोटका संचालक समेत रहेका भट्टराईले मेलामा स्थानीय नौमती बाजासहित विभिन्न समुदायको झाँकीहरु प्रदर्शन गरिनेछ । १५ वटा स्टलहरु रहने मेलामा खानाका विभिन्न परिकार, स्थानीय माछा तथा कृषि उत्पादनको प्रदर्शन हुने उनले बताए । मेलामा डुङ्गा दौड लगायतका खेलकुदका प्रतियोगिता पनि रहने उनले जानकारी गराए ।

प्रवेश नि:शुल्क रहेको मेलाको दुई दीनमा २० हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान आयोजकको छ । फेवा पर्यटन विकास समितिमा हाल एक सय भन्दा बढी व्यवसायीहरु आबद्ध छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button