मनाङलाई पाखा लगाउँदै जाउलाखेल सेमिफाइनलमा

पोखरा । छ पटकको उपाधि विजेता मनाङ मर्स्याङ्दीलाई पाखा लगाउँदै जाउलाखेल युथ क्लव पोखरामा जारी तेइसौं आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।

पोखरा रंगशालामा आज भएको कडा र रोचक प्रतिस्पर्धामा मनाङ सडनडेथको सिकार बनेको हो ।

यसअघि निर्धारित र अतिरिक्त समयमा पनि दुवै टिमले १-१ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

पाँच पेनाल्टी प्रहार पनि ४-४ को बराबरी भएपछि खेल सडन डेथमा पुग्यो ।

दुवै टोलीका ९-९ खेलाडीले पेनाल्टी प्रहार गर्दा जावलाखेल ७-६ ले खेल आफ्नो पक्षमा पार्न सफल भएको हो ।

जाउलाखेललाई जिताउन गोलरक्षक युनेश चौधरीले निर्णायक भूमिका खेले ।

चौधरीले मनाङका रणदीप पौडेलको प्रहार रोकिदिएका थिए ।

आजको निर्धारित समयमा जवालाखेलका हिसुब थपलियाले ५५औँ र मनाङका राजेश परियारले ८९औँ मिनेटमा गोल गरेका थिए ।

यो जीतसँगै जाउलाखेलले २०६८ को फाइनलमा मनाङसँगै व्यहोरेको हारको बदला पनि लिएको छ ।

जाउलाखेल ०६८ को फाइनलमा मलाङसँग २-० गोलले पराजित हुँदै उपाधिबाट बिमूख भएको थियो ।

जाउलाखेलले फाइनल प्रवेशका लागि सेमिफाइनलमा बलियो प्रतिद्वन्दी थ्रीस्टार क्लबको सामना गर्नेछ ।

प्रतियोगिताको पहिलो क्वाटरफाइनलबाट थ्रीस्टार र दोस्रो क्वाटरफाइनलबाट त्रिभुवन आर्मी सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

थ्रीस्टारले भुटानको पारो एफसी र आर्मीले डिफेण्डिङ च्याम्पियन संकटा क्लवलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेका हुन् ।

प्रतियोगिता अन्तर्गत मंगलबारको अन्तिम क्वाटरफाइनल खेल चर्च व्वाइज युनाइटेड र नेपाल पुलिस क्लवबीच हुनेछ ।

प्रतियोगिताका विजेताले १२ लाख एक हजार र उपविजेताले छ लाख एक हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक सहारा क्लबले जनाएको छ ।

प्रतियोगिताको फाइनल खेल माघ २० गते शनिबार हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button