सातौँ व्यास अल्ट्रा म्याराथनमा सेनाको वर्चस्व

तनहुँ । व्यास नगरपालिकाले आयोजना गरेको सातौँ व्यास अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लवका जुनेश खड्काले जितेका छन् ।

शहीद दिवसका अवसरमा व्यास नगरपालिका-५ मानुङकोटदेखि व्यास नगरपालिका-८ पुलिमराङसम्म आज आयोजित अल्ट्रा म्याराथनको उपाधि जर्सी नम्बर ५० का खड्काले जितेका हुन् ।

चवालीस किलोमिटर दूरीको म्याराथन तीन घण्टा १८ सेकेण्डमा पूरा गर्दै खड्काले उपाधि जितेका हुन् ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका खेलाडीले वर्चस्व कायम गरेका छन् । प्रतियोगितामा बैतडीका मोहनदेव जोशी द्वितीय भएका छन् ।

उनले उक्त दूरी तीन घण्टा दुई मिनेट ३३ सेकेण्डमा पूरा गरे । नेपाली सेनाका करण रावत तृतीय हुँदा उनले उक्त दूरी तीन घण्टा १० मिनेट ३० सेकेण्डमा पूरा गरे ।

त्रिभुवन आर्मी क्लबका राजन मेयोङ्बा चौथो, त्रिभुवन आर्मीकै प्रताप खड्का पाँचौँ, सोलुखुम्बुका अर्जुन राई छैटौँ र त्रिभुवन आर्मी क्लवका तिलक सुनुवार सातौँ भएका छन् ।

उनीहरुले उक्त दूरी क्रमशः तीन घण्टा १७ मिनेट २४ सेकेण्ड, तीन घण्टा १९ मिनेट ३० सेकेण्ड, तीन घण्टा २१ मिनेट तीन सेकेण्ड र तीन घण्टा २४ मिनेट ४६ सेकेण्डमा पूरा गरेको युवा तथा खेलकुद शाखा प्रमुख नवीन पराजुलीले जानकारी दिए ।

म्याराथनमा दुई विदेशीसहित एक सय १७ धावकको सहभागिता थियो ।

अल्ट्रा म्याराथनमा प्रथम हुनेलाई रु ८५ हजार ८०, द्वितीय हुनेलाई रु ६५ हजार ८०, तृतीय हुनेलाई रु ५५ हजार ८० र सान्त्वना हुने पाँच जनालाई जनही रु १६ हजार ८० नगद पुरस्कार प्रदान गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

विजेतालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्यले पुरस्कार वितरण गरेका थिए ।

व्यास नगरपालिका-५ मानुङबाट सुरु म्याराथन मानुङकोट सिद्धमार्ग हुँदै अलैचे-चापाघाट-अनसन चौतारी-सफासडक-भोर्लेटार चोक-बैरेनी-दुम्सी-कलेस्ती-पाथ्रा-सत्रसय-बानियाँ डिही-बर्लाची-सोतीबेँसी-बगुवा रिस्ती-बाहुन पोखरा हुँदै व्यास नगरपालिका-८ पुलिमराङमा पुगेर सकिएको थियो ।

गत वर्ष जिल्लाभित्रका धावकलाई मात्रै सहभागी गराइएको थियो । गत वर्ष आयोजित म्याराथनको उपाधि व्यास-७ निवासी विशाल गुरुङले जितेका थिए । चवालीस किमी दूरी तीन घण्टा २९ मिनेट २६ सेकेण्डमा पूरा गर्दै गुरुङले उपाधि जितेका थिए ।

त्यस्तै, व्यास नगरपालिका-६ का सहास पन्थ द्वितीय, आँबुखैरेनी गाउँपालिका-१ का सनम गुरुङ तृतीय भएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button