प्रिमनसुन : पोखरासहित देशभर वर्षा

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरा, सङ्घीय राजधानी काठमाडौँसहित देशभर प्रिमनसुन वर्षा भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर बदली रहनाका साथै देशका विभिन्न स्थानमा वर्षा भएको हो ।

महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आज कोशी प्रदेश र मधेस प्रदेशको पूर्वी भू-भागबाहेक देशभर वर्षा भएको छ ।

प्रिमनसुन सुरु भएपछि आज पहिलोपटक काठमाडौँसहित देशभर वर्षा भएको हो ।

“मार्च १ तारिखदेखि नै प्रिमनसुन सुरु भइसकेकाले यो प्रिमनसुन वर्षा हो ।

आज प्रिमनसुन गतिविधि पनि देखियो, चट्याङसहित वर्षा भएको छ ।”

प्रिमनसुनमा विशेष गरेर बिहानदेखि मध्याह्नसम्म घाम लाग्ने अपराह्नतिर बदली हुनाका साथै मेघगर्जन/चट्याङसहित वर्षा हुने मौसमविद् पुडासैनीको भनाइ छ ।

मार्च, अप्रिल र मे महिनालाई प्रिमनसुन महिना मानिन्छ । नेपालमा सामान्यतयाः मनसुन भित्रिने समय जुन १० तारिख भए पनि कुनै वर्ष केही दिन ढिलो वा चाँडो मनसुन भित्रिने गरेको मौसमविद्को भनाइ छ ।

अघिल्लो वर्ष जुन १४ तारिखमा नेपालमा मनसुन भित्रिएको थियो ।

महाशाखाका अनुसार गण्डकी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा भएको छ । आज देशभरका धेरै स्टेसनमा वर्षाको रेकर्ड भएको मौसमविद् पुडासैनीले बताए ।

नेपालमा पश्चिमी वायुको प्रभाव पनि कायमै छ । सोमबारदेखि मौसममा क्रमिक सुधार हुनेछ ।

देशका पहाडी भेगका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button