सामाजिक कुरीतिबिरुद्ध जागरण अभियान आवश्यक : एसपी थापा

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहन कुमार थापाले सामाजिक कुरीतिबिरुद्ध जागरण अभियान आवश्यक रहेको बताएका छन् । साथै उनले समाजमा हुने विकृति विसंगति न्यूनीकरणका लागि समुदायसँग समन्वय आवश्यक रहेको बताए ।

सामाजिक विकास कार्यालय कास्कीको आयोजनामा सामाजिक कुरीतिविरुद्ध प्रशिक्षण कार्यक्रमको समापनमा उनले यस्तो बताएका हुन् ।

‘विकृति विसंगति न्यूनीकरण गर्ने काम प्रहरीको हो । तर प्रहरी एक्लैबाट त्यो सम्भव छैन’, एसपी थापाले भने, ‘विकृति विसंगति न्यूनीकरणका लागि समुदायसँग समन्वय गर्न प्रहरी सधैँ तयार छ ।’

उनले यस्ता खालका कार्यक्रम गर्न लागि आफ्नो कार्यलयबाट निःशुल्क रुपमा प्रशिक्षक उपलब्ध गराउने प्रतिवद्धता जनाए ।

प्रशिक्षणमा स्थानिय जनप्रतिनिधि, नागरिक समाज शिक्षक, समुदाय प्रहरी, आमा समूह क्लव, महिला प्रवद्र्धित सहकारी, लैंगिक अल्पसंख्यकबाट प्रतिनिधित्व रहेको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ नायव निरीक्षक होतबहादुर रोकाह र अधिवक्ता गीता लामिछानेले सहजीकरण गरेका थिए ।

कार्यक्रममा कास्की जिल्लामा सचेतना जगाउनका लागि सामाजिक कुरीतिबिरुद्ध जागरण अभियान नै सञ्चालन गर्नुपर्नेमा जोड दिइएको थियो ।

शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले फुजल खर्चका कारण विकृति विसंगति बढ्दै गएको बताउँदै यस्ता खालका गतिविधिलाई निरुत्साहित पार्न सबै लाग्नुपर्ने उल्लेख गरे ।

अभियानकर्ता रामबहादुर पौडेलले प्रशिक्षणमा सिकेका सिकाइबाट कास्की जिल्लालाई विकृतिरहित जिल्ला बनानन सकेमा मात्रै प्रशिक्षणले सफलता पाउने उल्लेख गरे ।

सहभागी गीता पौडेलले सिकेका कुरा व्यवहारमा उतार्न आफ्नो तर्फबाट लागि पर्ने बताइन् ।

सामाजिक विकास कार्यालय कास्कीका कार्यालय प्रमुख इन्द्रबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अधिकृत ज्ञानेश्वर सुवेदीले गरेका थिए ।्

जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा भएको प्रशिक्षणमा ४५ जना सहभागी थिए ।

समाजमा विद्यमान सामाजिक कुरीति, लैंगिक हिंसा, बाल विवाह, दाइजो प्रथा, जातीय भेदभाव, मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरण गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button