पोखरामा सांस्कृतिक कार्यक्रम एवं भजन प्रतियोगिता हुने

पोखरा । ज्येष्ठ नागरिक सरोकार समाज नेपाल कास्कीले सांस्कृतिक कार्यक्रम एवं भजन प्रतियोगिता आयोजना गर्ने भएको छ ।

हिमाली साँस्कृतिक परिवारले सहकार्य गर्ने कार्यक्रम वैशाख १९, २० र २१ गते पोखरामा हुनेछ । कार्यक्रमको तयारी सुरु भएको संयोजक अधिवक्ता दुर्गाप्रसाद कोइरालाले जानकारी दिए ।

संयोजक कोइरालाका अनुसार कार्यक्रम पोखरा सभागृह हलमा हुनेछ । कार्यक्रममा वरिष्ठ कलाकार मनोज गजुरेल, ईन्द्रेणी परिवार, सिन्धुली कलाघरसहितका राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ । कार्यक्रमको तयारी तीव्ररुपमा अघि बढाउन लागिएको संस्थाका अध्यक्ष भक्तराज श्रेष्ठले जानकारी दिए ।

ज्येष्ठ नागरिकका लागि आवश्यक स्वास्थ्य सुविधा, मनोरञ्जन, धार्मिक एवं आध्यात्मिक चिन्तनका लागि आवश्यक भौतिक संरचना निर्माण, देश विदेशबाट आउने तीर्थयात्री तथा धर्मालम्बीका निम्ति आवश्यक भौतिक संरचना निर्माण, संस्थाको कार्यालय परिसर भित्र भगवान शिव, बुद्ध तथा देवीदेवताको प्रतिमा स्थापना, नेपाली लोकभजन कीर्तनको संरक्षण र संबर्द्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको उनले बताए ।

संस्थाका मूल समितिका सदस्य प्रजापति पराजुलीले ज्येष्ठ नागरिक साक्षात् भगवानको रुप भएका कारण उनीको सेवा प्रदान गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको बताए ।

पराजुलीले उमेरले ८४ वर्ष पुगेपनि ज्येष्ठ नागरिकका निम्ति केही गर्नुपर्छ भन्ने हुटहुटीका साथ संस्थाका अध्यक्ष श्रेष्ठले सबैमा उत्साह थप्ने काम गरेको भन्दै प्रशंसा गरे ।

संस्थाका महासचिव महासचिव विष्णुप्रसाद पौडेलका अनुसार कार्यक्र सम्पन्न गर्न १२ लाख लाग्ने र ३५ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको छ ।

कार्यक्रमका लागि कोइराला संयोजक, भागवत भाष्कर कमल नयन गौतम, प्राज्ञ हरिदेवी कोइराला, प्रजापति पराजुली र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्वअध्यक्ष पुरुषोत्तम न्यौपाने सदस्य छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button