गण्डकीका आठ हजार बढी होटल तथा रेष्टुराँ, २५ हजार श्रमिक

पोखरा । होटल व्यवसायी महासङ्घ गण्डकीमा आठ हजार बढी होटल तथा रेष्टुराँ व्यवसायी आबद्ध छन् ।

अर्बौँको लगानी रहेका ती होटलमा झण्डै २५ हजार श्रमिकले रोजगारी पाएको महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले बताए ।

उनका अनुसार अधिकांश मझौला तथा साना होटल महासङ्घमा समेटिएका छन् । “पोखराको लेकसाइडबाहेक अन्यत्रका पर्यटकीयस्तरीय होटल पनि महासङ्घमा आबद्ध छन्”, उनले भने, “सबैभन्दा बढी नवलपुरमा करिब दुई हजार होटल व्यवसायी महासङ्घमा जोडिएका छन् ।”

कोभिड-१९ महामारीका बेला गरिएको जिल्लागत अध्ययनले आठ हजार बढी होटल गण्डकी प्रदेशमा सञ्चालनमा रहेको पाइएको अध्यक्ष चोखालले बताए ।

“आतिथ्य सेवामा झण्डै २५ हजार जनशक्ति परिचालित रहेको हाम्रो अनुमान छ”, उनले भने, “कोभिड-१९ का बेला केही मात्रामा श्रमिकको कटौती भए पनि पर्यटकीय क्षेत्रमा नयाँनयाँ होटल खुलिरहेकाले रोजगारी पनि थपिएको छ ।”

पर्यटकीय राजधानी पोखरामा रहेका पृथ्वी होटल व्यवसायी समिति, पोखरा नगर रेष्टुराँ एण्ड बार एशोसिएसनलगायत संस्था पनि महासङ्घमा आबद्ध छन् ।

महासङ्घअन्तर्गत पोखराका झण्डै एक हजार चार सय होटल तथा रेष्टुराँ व्यवसायी आबद्ध रहेको अध्यक्ष महासङ्घ गण्डकी प्रदेशका महासचिव देवेन्द्र लम्सालले जानकारी दिए ।

सबैभन्दा कम बागलुङमा एक सय ३० होटलले सेवा दिइरहेको उनको भनाइ छ । “केही पुराना व्यवसायी विस्थापित भए पनि आतिथ्य सेवामा लगानी आकर्षण बढ्दै गएको छ, यसबाट देशभित्रै रोजगारी सिर्जनामा योगदान पुगेको छ”, महासचिव लम्सालले भने ।

उनले होटलको लगानी प्रवर्द्धनसँगै कार्यरत कर्मचारीको सीप विकास र व्यावसायिक सुरक्षाका लागि महासङ्घले योजना बनाएर काम थालेको बताए ।

स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाहमा प्रदेशभरिका होटल व्यवसायी तथा कर्मचारीलाई सक्षम बनाउन क्षमता अभिवृद्धि तालिम सञ्चालन भइरहेको महासचिव लम्सालले बताए ।

महासङ्घ र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको संयुक्त आयोजनामा कालीगण्डकी करिडोरअन्तर्गतका जिल्लालाई समेटेर नवलपुर तथा म्याग्दीमा तालिम सम्पन्न भइसकेको जनाइएको छ ।

मस्र्याङ्दी करिडोरमा पर्ने तनहुँमा यही महिनाको अन्तिम साता तनहुँ र जेठ दोस्रो साताभित्र हिमालपारिको जिल्ला मनाङमा क्षमता अभिवृद्धि तालिम आयोजना गरिने महासङ्घले जनाएको छ ।

“होटलमा कार्यरत जनशक्तिको समयसापेक्ष सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन भइरहेको हो”, अध्यक्ष चोखालले भने, “तालिमले होटलको सेवा थप गुणस्तरीय र मर्यादित हुने अपेक्षा लिइएको छ ।”

गण्डकी प्रदेशको राजधानी सहर पोखरा पर्यटनकोसमेत राजधानी घोषणा भएका सन्दर्भमा यहाँ सञ्चालित होटलले पर्यटकमैत्री सेवा प्रवाह गर्नुपर्ने उनको भनाइ छ ।

धार्मिक पर्यटनका हिसाबले पनि गण्डकी प्रदेश महत्त्वपूर्ण रहेको भन्दै उनले पर्यटक आवागमनको वृद्धि सँगसँगै होटलहरूले आफ्नो आन्तरिक क्षमता र सेवाको गुणस्तर बढाउनुपर्ने बताए ।

तालिममा खाद्य स्वच्छता, सरसफाइ, पोशाक, पर्यटकमैत्री व्यवहार तथा आचरण, व्यवसायमा प्रविधिको प्रयोग, व्यवसायी र कर्मचारीबीचको सम्बन्ध, व्यवसायको प्रवर्द्धन, स्थानीय उत्पादनको व्यवसायीकरणलगायतका विषयमा विज्ञहरूले तालिम दिने महासङ्घका महासचिव लम्सालले बताए । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button