विजयादशमी र शनिदेवको प्रिय दिनमा राशिफल कस्ताे हाेला ?

आजको पञ्चाङ्ग

मिति २०८१ असोज २६ गते शनिबार, इस्वीसंवत अक्टोबर १२ तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४४, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आश्विनशुक्ल दुर्गापक्ष चलिरहेको छ । सौरमान अनुसार आज आश्विनशुक्ल दुर्गापक्षको दशमी तिथि रातिमा ४ः१८ बजेसम्म त्यसपछि एकादशी तिथि लाग्नेछ । नक्षत्रमा श्रवण रातिमा १२ः४४ बजेसम्म त्यसपछि धनिष्ठा लाग्नेछ । विष्कुम्भादि योगमा धृति ३९ घटि ४९ पलासम्म त्यसपछि शूल योग रहनेछ । करणमा बालब रहनेछ । आनन्दादि योगमा स्थिर रहनेछ । सूर्य कन्या राशिमा, चन्द्रमा मकर राशिमा रहनेछ । आज दिनमान २८घटि ५३ पला अर्थात ११ घण्टा ३५ मिनेटको रहनेछ ।

आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः०३ बजे यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः३५ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने रातिमा २ः१९ बजे र अस्ताउने समय रातिमा १२ः०१ बजे रहेको छ । आज बडादशैँको विजयादशमी पर्व र देवी बिसर्जन गर्ने दिन रहेको छ । साथै आज विजयादशमीको टीका लगाउने उत्तम साइत ११ः३६ मिनेटमा रहेको छ भने टीका ग्रहण गर्ने व्यक्ति पूर्वतर्फ फर्किनु उत्तम हुनेछ ।

आजको राशिफल

मेष : आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । समय शुभ छ उपयोग गर्नुहोला । आज शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ कुलदेवताभ्यो नमः मन्त्र कम्तिमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

वृष : आज समय खराब छ । ताकेका काममा बाधा हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुनेछैन । सामान हराउने वा चोरी हुने सम्भावना छ । नियमित खर्चसमेत बढ्ने योग छ । शरीरमा स्फूर्ति र उमङ्ग कमी हुनेछ । सवारी साधन चलाउँदा वा बाटो काट्दा होस राख्नुपर्छ । टाढाको यात्रा फलदायी हुँदैन । आज शुभकर्म गर्नु वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः मन्त्र कम्तिमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन : आज समय शुभ छैन । मनमा उत्साह र उमङ्गको कमी देखिने छ, शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनुहोला । मातापिता र अभिभावक वर्गसँग सामीप्यता राख्न सके राम्रो हुनेछ । अरुको हीतका लागि गरिएको कामबाट लाभ लिन सकिने छैन, राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । आज शुभकर्म गर्नु वा यात्रामा जानु अघि ॐ सूर्यसुताय शनये नमः मन्त्र कम्तिमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट : आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । आज कुनै शुभकर्म गर्नु वा यात्रामा जानु अघि ॐ धर्मराजाय नमः मन्त्र कम्तिमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह : आज समय राम्रो छैन । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । सवारी साधन हाँक्दा अपनाएको सचेतताका कारण चोटपटकबाट जोगिनु हुनेछ । गर्नै पर्ने व्यवहारिक काममा लामो यात्राको सम्भावना छ । कडा मिहिनेत र लगशीलतापछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । दीर्घकालिक योजना कार्यान्वयन गर्न वा दूरगामी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नु राम्रो हुन्छ । आज कुनै शुभकर्म गर्नु वा यात्रामा जानु अघि ॐ मृत्युञ्जयाय नमः मन्त्र कम्तिमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या : आज समय राम्रो रहनेछ । दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ । रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । आतिथ्यपूर्ण सम्मान र मीठो भोजनको प्राप्ति हुनेछ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ । धार्मिक, सामाजिक वा माङ्गलिक कर्ममा सहभागी भइने छ । आज कुनै शुभकर्म गर्नु वा यात्रामा जानु अघि ॐ कामदेवाय नमः मन्त्र कम्तिमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला : आज भने समय राम्रो छैन । आज द्धितीय भावमा कमजोर चन्द्रमा रहेकाले जस र सम्मानको ख्याल नगरिकन धार्मिक र सामाजिक कार्यमा नेतृत्व लिएर काम गरेको जाति हुन्छ । पराक्रम र उत्साहमा कमी आउने छ । कृषिकर्म र बन्दव्यापारबाट आम्दानी पनि कम हुनेछ । साथीभाइ, इष्टमित्र वा घरपरिवार भित्रै झैझगडा र विवादको वातावरण सिर्जना हुनेछ । आज शुभकर्म गर्नु वा यात्रामा जानु अघि आज ॐ कार्यविनायकाय महागणाधिपतये नमः मन्त्र कम्तिमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

वृश्चिक : आज समय राम्रो छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हात लागी हुने समय छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । मनमा बसाइ सर्ने, सरुवा हुने, स्थान परिवर्तन अथवा व्यवसाय वा पेसामा परिवर्तनको धारणा पलाउन सक्छ । नयाँ काममा हात हाल्ने समय छ । आज कुनै शुभकर्म गर्नु वा यात्रामा जानु अघि आज ॐ सिद्धिलक्ष्म्यै नमः मन्त्र कम्तिमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु : आज पनि समय मध्यम खालको रहनेछ । तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । रमाइलो यात्राको सम्भावना पनि छ । त्यस्वास्थ्य सबल रहने छ । आज शुभकर्म गर्नु वा यात्रामा जानु अघि आज ॐ धन्वन्तरीदेवाय नमः मन्त्र कम्तिमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर : आज पनि समय भरपर्दोे रहनेछैन । स्वास्थ्यमा समस्या आउन सक्छ । यात्रामा पनि झण्झट आइलाग्नेछ । अरुले दिएका खानेकुरा नखानुहोला । बोल्दा निकै विचार पुर्याउनुहोला । परिवारका सदस्य बिरामी पर्नाले तनाव उत्पन्न हुनेछ । साथीसंगको भेटघाट रमाइलो हुनेछ तर झगडा पनि हुन सक्छ, सतर्क हुनुहोला । आज शुभकर्म गर्नु वा यात्रामा जानु अघि ॐ वाग्देव्यै नमः मन्त्र कम्तिमा ७ पटक जप गरी आरम्भ गर्दा शुभ हुनेछ ।

कुम्भ : आज भने समय राम्रा छैनन । मानसिक तनावबाट मुक्त हुन कठिन छ । इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ । पाहुनाको रुपमा आज कसैकहाँ जानु ठीक छैन । गरेको काम बिग्रने संभावना बलियो छ । जताबाट पनि खर्चमात्रै ज्यादा हुने सम्भावना रहेको हुनाले सतर्क हुनैपर्छ । आज शुभकर्म गर्नु वा यात्रामा जानु अघि ॐ अष्टमातृकाभ्यो नमः मन्त्र कम्तिमा ११ पटक जप गरी आरम्भ गर्दा राम्रो हुनेछ ।

मीन : आज पनि समय र स्वास्थ्य राम्रो रहनेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । धार्मिक यात्रा फलदायी, पारिवारिक सहयोग प्राप्त हुनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । आज शुभकर्म गर्नु वा यात्रामा जानु अघि ॐ अं अङ्गारकाय नमः मन्त्र कम्तिमा १० पटक जप गरी आरम्भ गर्नुहोला ।

साइत : सूर्य कन्या राशिमा, चन्द्रमा मकरराशिमा रहनेछ । त्यसैले दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शनिबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला । आजपूर्व, उत्तर रपश्चिमतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः०१ बजेदेखि ७ः२८ बजेसम्म काल बेला
बिहान ७ः२८ बजेदेखि ८ः५५बजेसम्म शुभबेला
बिहान ८ः५५ बजेदेखि १०ः२३ बजेसम्म रोगबेला
बिहान १०ः२३बजेदेखि ११ः५० बजेसम्म उद्धेगबेला
मध्यान्ह ११ः५० बजेदेखि १ः१७ बजेसम्म चरबेला
दिनमा १ः१७ बजेदेखि २ः४५ बजेसम्म लाभबेला
दिनमा २ः४५ बजेदेखि ४ः१२ बजेसम्म अमृतबेला
दिनमा ४ः१२ बजेदेखि ५ः४० बजेसम्म कालबेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः४० बजेदेखि ७ः१२ बजेसम्म शुभबेला
साँझ७ः१२ बजेदेखि ८ः४५ बजेसम्म रोगबेला
राति ८ः४५बजेदेखि १०ः१८ बजेसम्म उद्धेगबेला
राति १०ः१८ बजेदेखि ११ः५० बजेसम्म चरबेला
राति ११ः५० बजेदेखि १ः२३ बजेसम्म लाभबेला
राति १ः२३ बजेदेखि २ः५६ बजेसम्म अमृतबेला
रातिमा २ः५६ बजेदेखि ४ः२९ बजेसम्म कालबेला
रातिमा ४ः२९ बजेदेखि ६ः०१ बजेसम्म शुभबेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button