
पोखरा । पोखरामा लागूऔषध ब्राउनसुगर बिक्री वितरणमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिबाट ब्राउनसुगर, नगद रकम र मोबाइल फोनसहितका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखरा -१७ घारीपाटनमा छापा मारेर युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा घारीपाटन निवासी २९ वर्षीय नवराज चापागाईँ रहेका छन्।
नवराजको साथबाट ३ वटा सानो प्याकेट फेला पारेको प्रहरीले उनी बस्ने घरको कोठामा छापा मार्दा हेलमेट र बट्टाभित्र लुकाएको अवस्थामा १३ प्याकेट ब्राउनसुगर फेला परेको हो ।
प्रहरीले नवराजको साथबाट ९२ ग्राम लागूऔषध, ९४ हजार ५०० रुपैयाँ नगद र दुई वटा मोबाइल फोन बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी, डिएसपी हरी बहादुर बस्नेतले जानकारी दिए ।
डिएसपी बस्नेतका अनुसार पक्राउ परेका नवराजमाथि लागूऔषध मुद्दामा सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।





