पोखरा न्यूज । गुरुङ समुदायले आज बिहीबार‘तमु ल्होसार’ पर्व मनाउँदै छन् । यो पर्वलाई नयाँ वर्षको आगमनका रूपमा मनाइन्छ । जानकारहरूका अनुसार ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिन्छ ।
यो पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङहरूको बाहुल्य रहेका जिल्ला लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायतका स्थानमा तमु ल्होसारको रौनक हुने गर्दछ । तमु ल्होसारका अवसरमा गण्डकी प्रदेश र विभिन्न स्थानीय तह साथै नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ । यस अवसरमामा गण्डकी प्रदेश प्रमुख तथा मुख्यमन्त्रीले सन्देश जारी गर्दै शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबार एक सन्देश जारी गर्दै तमु जातिको नयाँ वर्षको रूपमा मनाइने यस पर्वले नेपाली समाजमा सद्भावना बढाउँदै , आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्नुका साथै यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
‘यस पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै तमु जाति लगायत सम्पूर्ण नेपालीलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुन सबैलाई प्रेरित गर्न सकोस् । यो महत्त्वपूर्ण पर्वका अवसरमा सम्पूर्ण तमुहरूमा पुनः शुभकामना’, प्रदेश प्रमुख गुरुङको सन्देशमा भनिएको छ ।
त्यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुभकामना सन्देश जारी गर्दै विविध समुदायले मनाउने पर्वहरूले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको डोरीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्यको कामना गर्दै गुरुङ समुदायले परम्परादेखि पुस १५ का दिन मनाउँदै आएको यस पर्व नेपाली सांस्कृतिक परम्पराका लागि उदाहरणीय रहेको उल्लेख गर्नुभएको छ ।
‘यस पर्वले अझै उक्त समुदायको मौलिक परम्परा र सांस्कृतिक महत्त्वको पक्षलाई उजागर गर्ने छ । सबै नेपालीबिच आपसी प्रेम, बन्धुत्व र एकताको भावना बढाएर शान्त अनि समृद्ध नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गर्नेछ भन्ने कामना गर्दछु’, मुख्यमन्त्री पोखरेलले सन्देश मार्फत भन्नुभएको छ ।’
१५ पुसको रात सबैभन्दा लामो हुने जनविश्वास छ । यसपछिका रात घट्दै जाने गर्छ ।
वर्षको सबैभन्दा लामो रात मानिने १५ पुसलाई पश्चिम नेपालको पहाडी जिल्लामा पुसे १५ का रूपमा मनाइन्छ । यो पर्वमा एक आपसमा कथा, दन्त्यकथा, गाउँखाने कथा सुन्ने सुनाउने गरिन्छ । यो पर्व डोटेली लोकसंस्कृतिमा ‘पुसे १५’का रूपमा चिनिन्छ ।
१५ पुसको रातिको समयमा एक ठाउँमा भेला भएर गरिने आगो तापेर रातभर जाग्राम बस्ने, जाग्राम बसेका बेला विशेष गरी चामलको पिठोबाट बनेको ढुकढुके रोटी, तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमूलका साथै पाकेको फर्सी उसिनेर खाने प्रचलन छ ।
१५ गते बेलुकी प्रत्येकको घरमा ढुकढुके रोटी पकाइन्छ । टोल टोलमा समेत सामूहिक रूपमा पनि रोटी पकाउने तथा रातभर रोटी खाएर वृद्ध वृद्धाबाट लोककथा, गाउँखाने कथा सुन्ने सुनाउने प्रचलन छ ।
पर्वमा विवाहिता छोरीलाई पनि घरमा आमन्त्रण गरिन्छ ।