पोखरा-
पोखरामा जारी बृहत सफाइ अभियानको ३४ औं श्रृंखलामा झण्डै ७ टन फोहोर मैला संकलन गरिएको छ ।
न्यूरोडस्थित पोखरा उपहानगरपालिका कार्यालय गेटदेखि सुरु सफाइ अभियानमा उक्त परिणाममा फोहोर संकलन भएको सृजना टोल विकास संस्थाका अध्यक्ष एवं सामाजिक अभियन्ता बलराम बरालले जानकारी दिए ।
सफाइ कार्यक्रम सभागृहचोक, शिवालयचोक, नागढुंगा हुँदै एयरपोर्ट–हर्कचोकसम्मका सडक र सार्वजनिक स्थलमा रहेका फोहोरमैला संकलन गरिएका महिला समन्वय समिति पोखरा ८ का अध्यक्ष तारा केसी भट्टराईले बताइन् ।
सफाइ अभियानमा कास्कीका स्थानीय विकास अधिकारी बलराम ढकाल, पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुंगाना, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत अनिलकुमार शाही, सशस्त्र प्रहरी गण मुख्यालय पार्दीका सुरक्षाकर्मी, लायन्स क्लब अफ पोखरा फिस्टेल सिटी, मुक्तिनाथ विकास बैंक, विभिन्न आमा समूह, जनप्रिय मावि स्काउट समूह, टोल विकास संस्था, अभियान क्लब महिला उपसमिति, वडा नं. ६, ८ र ९ का वडा सचिवहरु, बाबा फाउण्डेसन, पोखरास्थित विभिन्न क्षेत्रका सामाजिक अभियन्ता लगायत वडा नं. ८ का स्थानीयको उल्लेख्य सहभागिता रहेको सामाजिक अभियन्ता धीरज थापाले जानकारी दिए ।
टोल विकास संस्था वडा समन्वय समिति ८ को संयोजनमा सम्पन्न सफाइ कार्यक्रमका लागि मुक्तिनाथ विकास बैंक पोखरा शाखा प्रमुख बाबुराम ढकालले ३ सय जोर ग्लोब र मास्क,लायन्स क्लब अफ पोखरा फिस्टेल सिटीका अध्यक्ष ई.सुरेन्द्र पौडेलले १ हजार ग्लोब, मास्क, १० थान कुचो तथा पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष कमल न्यौपानेले पिउनेपानी कार्यकारी अधिकृत नवराज ढुंगानालाई हस्तान्तरण गरेका थिए ।
यस अघि, स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले उपस्थित सहभागीलाई सपथ ग्रहण गराएका थिए ।
कार्यक्रममा टोल विकास संस्था वडा समन्वय समिति पोखरा ८ का अध्यक्ष शारदा गिरीले धन्यवाद ज्ञापन गरेकी थिइन् ।