पोखरा न्यूज – १५, फागुन ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सवार एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको मृत्यु भएको छ ।
आज ताप्लेजुङको मयम, तारेभिरमा हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा हेलिकप्टरमा सवार सातै जनाको निधन भएको गृह मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले मन्त्री अधिकारीसहित अन्य सवार छ जना र क्याप्टेन गरी सात जनाको शव फेला परेको बताए । मन्त्री अधिकारी तथा मन्त्रीका पीएसओ नेपाली सेनाका जमेदारको शव चिन्न सकिने अवस्थामा रहेको र बाँकी शव चिन्न सकिने अवस्थामा नरहेको प्रवक्ता सुवेदीले जनाए ।
शव ल्याउनका लािग नेपाली सेनाको एमआई १७ र बेल हेलिकप्टर दुर्घटनास्थल तर्फ उडिसकेको उल्लेख गर्दै प्रवक्ता सुवेदीले दुर्घटना भएको स्थान विकट भएकाले हेलिकप्टरसम्म ल्याउन डेढदेखि दुई घण्टा लाग्ने जानकारी दिए ।
मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडामा आयोजित कार्यक्रम सकेर ताप्लेजुङको पाथीभरा दर्शन गरेर फर्कने क्रममा मन्दिरबाट डेढ किलोमिटर यता दुर्घटना भएको थियो । यसैबीच हेलिकप्टर दुर्घटनास्थल तारेभीरमा पुगिसकेको बताइएको छ ।
दुर्घटना भएको हेलिकप्टरमा मन्त्री अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, नागरिक उड्डयन प्राधिकरण (क्यान)का नायव महाप्रबन्धक विरेन्द्र श्रेष्ठ, मन्त्रीका अंगरक्षक अर्जुन घिमिरे, क्यानका ध्रुब भोचिभैया र हेलिकप्टर चालक क्याप्टेन प्रभाकर केसी सवार रहेका थिए ।