पोखरा, ३० फागुन –
सांसद शारदा पौडेलले प्रजनन सम्बन्धि अधिकार महिलाहरुको नैसर्गिक अधिकार भएको बताउनुभएको छ ।
पोखरा कोमागाने मातृशिशु मितेरी अस्पतालको सहयोगमा हात्तीढुङ्गापथ नागरिक सचेतना केन्द्र र टोल विकास संस्थाले आयोजना गरेको मातृशिशु स्वास्थ्य शिक्षा सम्बन्धि सचेतना कार्यक्रमको उद्घाटन गर्दै सांसद पौडेलले प्रजनन् स्वास्थ्य सम्बन्धि अधिकारलाई पूर्ण रुपमा पालना गर्न आग्रह गर्नुभयो । सन्तान जन्माउने अधिकार महिलाको भएको बताउँदै, कति समयको अन्तरमा बच्चा जन्माउने हो त्यसको निर्णय स्वंय महिलाले गर्नुपर्ने उहाँको भनाई थियो । अधिकाशं दलित समुदायका महिला सहभागी उक्त कार्यक्रममा सांसद पौडेलले बालमृत्युदर घटाउन र आमा बच्चालाई स्वस्थ राख्न सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताउनुभयो।
टोल विकास समितिका अध्यक्ष दुर्गाबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा टोल विकास संस्था समन्वय समितिका अध्यक्ष पुष्पराज तिमिल्सिना, नेपाल पत्रकार महासंघ कास्कीका सदस्य शिशिर पौडेल, सामाजिक परिचालक मञ्जु नेपाली, संगम साँस्कृतिक क्लबका सचिव अनिल नेपाली लगायतले मातृशिशु र प्रजनन स्वास्थ्यका बारेमा हरेक परिवारमा सचेतना जगाउनुपर्ने बताएका छन् ।
कार्यक्रममा मितेरी अस्पतालका स्वास्थ्यकर्मीले जनचेतनामूलक नाटक प्रदर्शन गरेका थिए ।





