खम्बा गाडेको सात वर्षपछि बिजुली

फलेवास (पर्वत), ३० जेठ –

यहाँको एक विकट गाउँमा खम्बा गाडेको सात वर्षपछि बिजुली बलेको छ । दक्षिण पर्वतको भोक्सिङ गाविसमा लामो समयदेखिको अथक प्रयासपछि बिजुली बलेको हो ।

स्थानीय समुदायको पहलमा सामुदायिक विद्युतीकरण मार्फत राष्ट्रिय प्रसारण लाइन जडान भएको हो । उक्त सामुदायिक विद्युतीकरणको नेपाल सरकारका कृषि विकासमन्त्री हरिबोल गजुरेलले उद्घाटन गर्नुभएको हो ।

छिमेकी गाविस लुङ्खुदेउराली र होस्राङदीमा एकदशक अघिदेखि नै विद्युतीकरण भए पनि भोक्सिङ गाविस अन्धकारमय रहेको थियो । अहिले भोक्सिङ गाविसका एकसय ८२ घरधुरीमा विद्युतीकरण भएको सामुदायिक विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष हेमबहादुर मल्लले बताउनुभयो ।

दुई वर्ष अघिसम्म स्थानीय छर्छरे खोलाबाट निकालिएको लघु जलविद्युत परियोजनाको भरमा रहेपनि दुई वर्षअघिदेखि त्यो पूर्ण रुपमा बन्द भएपछि भोक्सिङ्गका बासिन्दाहरु सौर्य ऊर्जा र टुकीको भरमा रात काट्दै आएका थिए । ‘हुने खानेहरुको छानोमा सोलार हुन्थ्यो, हुँदा खानेहरुको घरमा टुकी बाल्नु पर्ने अवस्था थियो,’ अध्यक्ष मल्लले भन्नुभयोे – ‘विद्युतीकरण भएपछि सबैलाई राहतको महसुस भएको छ ।’

अहिले विद्युतीकरणको सुरुवात मा नै २ वटा राइस मिल सञ्चालनमा आएका छन् भने फर्निचर उद्योग सञ्चालनका लागि समेत उपभोक्ता समितिमा माग भइआएको छ । पर्वतको निर्वाचन क्षेत्र नं २ अन्तर्गत रहेको नेपाल विद्युत् प्राधिकरणको लुंखुदेउराली सवस्टेशनमार्फत भोक्सिङ्गमा लाइन जडान गरिएको बताइएको छ । यो सँगै जिल्लाका १ नगरपालिका र ४७ वटै गाविसमा विद्युत् सेवा पुगेको छ । क्षेत्र नं १ अन्तर्गतका अधिकांस गाविस र क्षेत्र नं २ का मुडिकुवा, खानीगाउँ, देविस्थान, कुर्घा, लुंखुदेउराली लगायतका गाविसमा केन्द्रीय प्रसारण लाइनअन्तर्गत विद्युत् सेवा विस्तार भएपछि अन्य गाविसमा सामुदायिक विद्युतीकरण उपभोक्ता समितिमार्फत विद्युत् सेवा सञ्चालनमा ल्याइएको हो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button