सरकार अपाङ्गमैत्री कार्यक्रम बनाउँदै – मन्त्री मैनाली

काठमाडौँ, ३२ जेठ –

उपप्रधानमन्त्री एवम् महिला, बालबालिका तथा समाजकल्याण मन्त्री सिपी मैनालीले सरकार अपाङ्मैत्री कार्यक्रम बनाउन लागिपरिरहेको बताउनुभएको छ ।

नेपाल राष्ट्रिय अपाङ्ग मानवअधिकार संरक्षण मञ्चले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले अपाङ्गमैत्री कार्यक्रम अन्तर्गतका साङ्केतिक भाषा, लिपी, अपाङ्गमैत्री वातावरण र संरचना बनाउने लगायतका कार्यहरु सुरु गरिएको बताउनुभयो । उहाँले अपाङ्ग भएर पनि क्षमतावान भएकालाई मुलुक विकासको लागि सदुपयोग गर्न सके आर्थिक समृद्धिको ढोका खुल्ने प्रष्ट पार्नुभयो ।

उपप्रधानमन्त्री मैनालीले शारीरिक अपाङ्गता भएका व्यक्तिको हकहितका लागि सबै सरोकारवाला पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै विशिष्ट क्षमता भएका अपाङ्ग व्यक्तिलाई आत्मनिर्भर बनाउने कुरामा सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले मन्त्रालयले शारीरिक अपाङ्गता भएका व्यक्तिका लागि नीति तथा कार्यक्रम बनाइरहेको जानकारी दिँदै त्यसको कार्यान्वयनमा अझै समय लाग्ने बताउनुभयो । उपप्रधानमन्त्री मैनालीले सरकारले हालै प्रस्तुत गरेको बजेटमा समेत आफूले शारीरिक अपाङ्गता भएकाको हकहितमा कार्यक्रम समावेश गरेको भएपनि केही अपुग भएका विषयवस्तुलाई सच्याएर जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा मञ्चका महासचिव रमेशबाबु तिवारीले विगत ९ वर्षदेखि सबै प्रकारका अपाङ्गता भएका व्यक्तिको हकहितमा लागिपरेको उल्लेख गर्दै लक्षित वर्गको क्षमता अभिवृद्धि गरी सामाजिक रुपान्तरण र विकासमा निरन्तर सहयोग गर्न माग गर्नुभयो ।

उक्त कार्यक्रममा दृष्टिविहिनलाई दृष्टिबिहीनमैत्री अडियो वितरणसमेत गरिएको थियो । कार्यक्रममा कक्षा ७ देखि स्नातकोत्तर सम्मको मानविकी सङ्कायको कोर्षका लागि १२० जना शिक्षक तथा विद्यार्थीको लागि र संस्थागत रुपमा ६ वटा विद्यालय तथा पुस्तकालयमा ती सामग्री उपलब्ध गराउने जानकारी गराइएको थियो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button