विवादै विवादमा भू–स्वर्ग खप्तड

डोटी, १ असार –

भू–स्वर्गले परिचित खप्तडको चर्चा आजदेखि मात्र होइन आदिम कालदेखि नै चल्दै आएको छ जसको स्पर्श चुम्नका निम्ति धेरै ठाउँका पर्यटक, तीर्थयात्री त्यस ठाउँसम्म पुग्ने गर्दछन् ।

सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका चारवटा जिल्ला डोटी, अछाम, बझाङ र बाजुरालाई छोएको भू–स्वर्ग खप्तड जानका निम्ति चारवटै जिल्लामा बाटो छ, तर धेरै जिल्ला र ठाउँलाई सहज हुने बाटो डोटीबाट नै हो ।

डोटीको सदरमुकाम सिलगढीबाट बगलेक हुँदै झिग्रानासम्म अहिले साना गाडीबाट यात्रा गर्न सकिन्छ, त्यहाँबाट रमाइलो पैदल यात्रा सुरु हुन्छ । करिब ६ घन्टासम्म यात्रा गर्दा भू–स्वर्ग खप्तडको रमणीयतामा बिलिन हुन पाइन्छ । यस बर्षको गङ्गा दशहरा मेलामा पनि देश विदेशबाट हजारौँ पर्यटक खप्तड पुगेका छन् । जेठ ३० गतेदेखि नै सुरु भएको यात्रामा असार १ गतेसम्म पनि खप्तड जाने पर्यटकको घुइँचो छ । दशहरामा त्रिवेणीमा स्नान गर्ने, सहस्रलिङ्गको दर्शन गर्ने, पूजाआजा गर्ने कार्य बुधबार वा आज असार १ गते बिहान भएको छ ।

पहिलेदेखि नै चलिआएको परम्परालाई यथावत् राखी अब नयाँ सपनाका साथ खप्तडको यात्रा शुभारम्भ गर्नुपर्ने डोटीका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद आचार्य बताउनुहुन्छ । आचार्यका अनुसार धार्मिक तथा पर्यटकीयस्थल खप्तड जानलाई निश्चित टुर प्याकेज हुन जरुरी छ । ‘खप्तड जाउँ र पुण्य कमाउँ’ भन्ने मात्रै नभएर यात्रालाई कसरी रोमाञ्चकारी बनाउन सकिन्छ र सुदूरपश्चिमका प्रमुख धार्मिकस्थलको दर्शनलाई कसरी समेट्न सकिन्छ, भन्ने निश्चित गर्नुृ अहिलेको आवश्यकता हो, उहाँले भन्नुभयो । खप्तडको यात्रालाई सुखद बनाउन प्रजिअ आचार्यको मनस्थितिमा एक किसिमको नक्सांकन भएको छ जसलाई उहाँले यसरी वर्णन गर्नुभएको छ । उहाँको सपनाको संसारमा कैलालीको अत्तरियाबाट पहाड चढेपछि डोटीमा रहेको शैलेश्वरीको दर्शन गर्ने, एक दिनको आरामपछि अछामको साँफेबगरमा रहेको वैजनाथ मन्दिरको दर्शन गर्नुपर्ने आचार्य बताउनुहुन्छ, जसले धार्मिक र सांस्कृतिक धरोहरको प्रचारप्रसारलाई टेवा पुरयाउनेछ ।

वैजनाथको दर्शन पश्चात् बाजुराको कैलाशमान्डाँैको दर्शनपछि बडिमालिकाको दर्शन गर्ने र बडिमालिकाबाट पर्केर आई भू–स्वर्ग खप्तड जाँदा अझ आनन्द प्राप्त हुने आचार्यले बताउनुभयो । यसबाट सबैले त्रिवेणीको स्नान र सहस्रलिङ्गको दर्शन गर्न पाउँछन्, उहाँ बताउनुहुन्छ । आचार्य भन्नुहुन्छ, “भाग्य नहुनेले खप्तडमा रहेका यी स्थलको दर्शन गर्न पाउदैँनन् । खप्तड आफँैमा स्वर्ग र त्यहाँ पवित्र मनले गएर मागेको फल प्राप्तिमा कुनै अवरोध छैन,” उहाँले भन्नुभयो ।

खप्तडको रमाइलो बसाइपछि बझाङ्को सुर्माभगवतीको दर्शन गर्न उपयुक्त हुन्छ, प्रजिअ आचार्यले थप्नुभयो । सुर्माभगवतीको दर्शनपछि दार्चुलाको मल्लिकार्जुन पुग्दा हाम्रो यात्रा अझ फलदायी हुन्छ । मल्लिकार्जुनमा शिवजीको पुकार गरेर आएपश्चात त्रिपुरासुन्दरी र बैतडीको निङ्लासैनी दर्शन गर्ने र त्यहाँबाट फर्की डढेल्धुरामा रहेको उग्रतारा र घटालबाबाको दर्शन गर्दा जीवनमा ठूलो पुण्य प्राप्त गर्न सकिन्छ र आत्मालाई पवित्र बनाउन सकिन्छ, आचार्यले भन्नुभयो । खप्तड पर्यटनलाई टेवा दिने यो भन्दा गतिलो सम्भाव्यता अरु नभएको आचार्यले बताउनुभयो । यो रुटलाई मात्रै विकास गर्नसक्ने हो भने सुदूरपश्चिमको मुहार फेर्न अरु कुनै ठूला प्रयास थालिरहनु पर्दैन जस्तो लाग्छ उहाँले भन्नुभयो । हामीले सुदूरपश्चिमको विकास चाहेका छाँै भने यहाँका धार्मिक पर्यटकियस्थलको विकास हुन जरुरी छ ।

खप्तडमा पूर्वाधार निर्माण हुन आवश्यक छ । देश विदेशबाट पर्यटक आउछन् तर विकासको दृश्य पुरानै रहेको छ । खप्तडमा बस्ने खाने ठाँउ छैन, टेलिकम टावर छैन । नेपाल टेलिकमको टावर फिट गर्ने भनेर डोटीको झिङ्ग्रानामा टावरका सामग्री आएको वर्षौँ वितिसक्दा पनि काम हुनसकेको छैन । टावरमा खिया लाग्दासमेत कसैको ध्यान पुगेको छैन, बगलेकका स्थानीयवासीको गुनासो छ । खप्तडका ती आशलाग्दा पाटनमा कुनै किसिमको विकास हुनसकेको छैन ।

खप्तड पर्यटन बोर्ड विकास समितिको कार्यालय डोटीमा कहिले कर्मचारी भर्नाको विवाद, कहिले निष्कासनको विवाद, आएका करौडाँैंका योजनामा राजनीतिक नियुक्तिका कारण हुने अपारदर्शीताले यहाँका स्थानीयवासीले आश मार्न थालेका छन् ।

चार जिल्लाको नजरको केन्द्रविन्दु खप्तड पर्यटन बोर्ड विकास समिति राजनीतिक खिचातानीले विवादास्पद बन्दै आएको छ । विगत १० वर्ष अगाडिदेखि कार्यरत कर्मचारीलाई बिनाकारण कामकाजबाट निकालिँदा झन् ठुलो समस्या परेको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button