कुकुरको स्थायी बन्ध्याकरण

भक्तपुर, २ असार –

छाडा कुकुरको सङ्ख्याा अत्यधिक वृद्धि भएपछि नियन्त्रण गर्न जिल्ला पशु सेवा कार्यालयले चाँडै कुकुरको स्थायी बन्ध्याकरण गर्ने भएको छ ।

कार्यालयले सल्लाघारी चोकदेखि दूधपाटी हुँदै दरबार स्क्वायर र दत्तात्रय चोकका पोथी कुकुरको स्थायी बन्ध्याकरण गर्न लागेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा नवीन घिमिरे उपाध्यायले जानकारी दिनुभयो । बन्ध्याकरण जिल्लास्थित भक्तपुर पशुकल्याण समाजसँग सहकार्य गरी सञ्चालन गरिने छ ।

कार्यालयले आवश्यक बजेट व्यवस्था गर्ने र समाजले आवश्यक प्राविधिक सेवा दिने छ । एउटा कुकुरको बन्ध्याकरण गर्न कम्तीमा रु चार हजार लाग्छ । उहाँले बजेट थोरै भएकाले पहिलो चरणमा सल्लाघारीदेखि दूधपाटी हुँदै दरबार स्क्वायर र दत्तात्रय चोकका कुकुरको बन्ध्याकरण गर्न लागिएको बताउनुभयो । उहाँले छाडा कुकुरको व्यवस्थापन स्थानीय नगरपालिकाले गर्नुपर्ने र उनीहरुको दायित्व समेत भए पनि त्यसतर्फ चासो नदिइएको गुनासो गर्नुभयो । “त्यसका लागि पटक पटक पहल गरे पनि नगरपालिकाले चासो नै दिएन,” उहाँले भन्नुभयो ।

स्थानीय निकाय ऐनले पनि छाडा कुकुर व्यवस्थापनको जिम्मेवारी नगरपालिकालाई दिएको छ । त्यस सम्बन्धमा नगरपालिकाले विगतमा छाडा कुकुर मार्ने अभियान सञ्चालन गथ्र्यो तर पशु अधिकारको आवाज उठी कुकुर मार्न नपाइने व्यवस्था भएपछि नगरपालिकाले छाडा कुकुर व्यवस्थापन गर्न छाडेको हो । एक सर्भेक्षणअनुसार सल्लाघारीदेखि दूधपाटी हुँदै दरबार स्क्वायर र दत्तात्रय चोकमा एक सय २० छाडा कुकुर छन् ।

रेबिजविरुद्धको खोप

रेबिज रोगको सङ्क्रमण देखापरेपछि पशुकल्याण समाजले छाडा कुकुरलाई रेबिजविरुद्धको खोप दिने कार्यक्रम सञ्चालन गरेको छ । जिल्लामा यस वर्ष मात्र २३ रेबिजका घटना प्रकाशमा आएको समाजका टोली नेता डा प्रणवराज जोशीले जानकारी दिनुभयो ।

एक महिनाअघि मात्र भक्तपुर नगरपालिका–३, जेँलामा रेबिज देखापरेपछि जेँला र गोल्मढी क्षेत्रका एक सय ७५ छाडा कुकुरलाई रेबिजविरुद्धको खोप दिइएको थियो । त्यसैगरी तीन महिनाअघि आशापुरी क्षेत्रमा फैलिएको रेबिजाबट दुई मानिसको ज्यान समेत गएको थियो । सो क्षेत्रमा समाजले एक सय ३५ छाडा कुकुरलाई रेबिजविरुद्धको खोप दिएको डा जोशीले बताउनुभयो ।

यसैबीच समाजले काठमाडौँ–भक्तपुर छ लेन सडकमा छाडा पशुका कारण सवारी दुर्घटनामा वृद्धि भएकाले त्यसको न्यूनीकरणका लागि छाडा पशुलाई रिफ्लेक्टर लगाइदिइने समाजका सञ्चालक सदस्इ सन्दीप जोशीले जानकारी दिनुभयो । समाजले गरेको स्थलगत सर्भेक्षणअनुसार सूर्यविनायक चोकदेखि सल्लाघारीसम्म २० भन्दा बढी छाडा बाच्छाबाच्छी र करिब ३५ कुकुर पाइएको छ ।

हाल काठमाडौँ–भक्तपुर छ लेन सडकको लोकन्थलीदेखि सूर्यविनायकचोकसम्म सवारीसाधनबाट दैनिक आधा दर्जन छाडा कुकुर थिचिएर मर्ने गरेका छन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button