अफगानिस्तानमा भएको बम विस्फोटमा १४ नेपालीको मृत्यु

पोखरान्युजडटकम, ६ असार –

अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान भएको बम आक्रमणमा परी १४ जना नेपालीको ज्यान गएको छ । त्यस आक्रमणमा परी अरु नौ जना घाइते भएका छन् ।

अफगानिस्तानको गृहमन्त्रालयले दिएको जानकारी अनुसार सोमबार बिहान उनीहरु चढेको एक मिनीबसमा एकजना आत्मघाती व्यक्तिले बम विस्फोट गराएको थियो । त्यस विस्फोटमा परी १४ जनाको घटनास्थलमै ज्यान गएको छ । मारिने १४ जना नेपाली नागरिक भएको जानकारी सो मन्त्रालयले बिहान नै गराएको हो ।

Afghanistan

एक विदेशी कम्पनीमा कामगर्ने ती नागरिकलाई लिएर गएको बसलाई राजधानी काबुलमा बिहान ५.४० बजे नै आक्रमणकारीहरुले निशाना बनाएका थिए । उक्त बसलाई निशाना बनाएर एक हमलाकारीले आत्मघाती बम हानेको र त्यस आक्रमणबाट आक्रमणकारी र उक्त बसमा रहेका १४ जनाको ज्यान गएको गृहमन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

घाइते भएका नौ जनामा पाँचजना नेपाली र अरु चार अफगान नागरिक रहेका बताइएको छ । काबुल नजिकैको पुल इ चर्खी सडकमा बस गुडिरहेका बेला एकजना आत्मघातीले बसलाई नै ताकेर विस्फोट गराएको बताइएको छ ।

Afghanistan

मध्य काबुलमा रहेको एक विदेशी दूतावासमा सुरक्षा गार्डका रुपमा कार्यरत उनीहरु सोमबार बिहानै आफ्नो ड्युटीमा जान लागेका समयमा यो दुर्घटना भएको अनुमान गरिएको छ । आक्रमणकारी आत्मघातीले बसलाई ताकेर आफैमाथि बम विस्फोट गराएको थियो । आक्रमणकारीको पनि घटनाहस्थलमै निधन भएको थियो । सो आक्रमणपछि त्यस वरपरका अरु सवारी साधनमा पनि क्षति पुगेको छ । घटनास्थल वरपरका घर पसलहरुमा पनि ठूलो क्षति पुगेको अधिकारीहरुले जनाएका छन् ।

यस आक्रमणको अफगानिस्तानको तालिवान संगठनले जिम्मेवारी लिएको छ । तालिवान प्रवक्ता जबिउल्लाह मुजाहिदले सोमबार बिहानै विज्ञप्तिमार्फत सो जिम्मेवारी लिएको काबुलबाट प्राप्त समाचारमा जनाइएको छ ।

अफगानिस्तानका कार्यकारी प्रमुख अब्दुल्लाह अब्दुल्लाहले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । कार्यकारी प्रमुख अब्दुल्लाह र यहाँको गृहमन्त्रालयले उक्त बम हमलाको निन्दा गर्नुभएको छ ।

प्रमुख अब्दुल्लाहले आफ्नो ट्वीटर अकाउन्टमा सो घटना आतङ्कवादी कामबाहेक अरु केही होइन भन्दै यसप्रति दुःख व्यक्त गर्नुभएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button