खानेपानीको पाइप बिच्छ्याइसकेपछि सडक कालोपत्र हुने

पोखरान्युजडटकम, ६ असार –

खानेपानीका लागि सडकमा पाइप बिच्छ्याएपछि बर्र्सौैंसम्म सडक नबन्ने घटना अब रोकिने भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

सडक खनेर काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले खाल्डो पुरेपछि सडक विभागले तुरुन्तै सडक कालोपत्र गर्ने गरी आज सम्झौता गरेको छ । मेलम्ची खानेपानी आयोजनाबाट प्राप्त पानी उपत्यकामा वितरण गर्न र फोहर पानी व्यवस्थापन गर्न नेपाल सरकार एवम् एसियाली विकास बैंकबीच ऋण सम्झौता भई पाइप बिच्छ्याउने काम भइरहेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव अर्जुनकुमार कार्की र खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव डा सञ्जय शर्माको उपस्थितिमा सडक विभागका महानिर्देशक माधवकुमार कार्की र आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक तिरेशप्रसाद खत्रीले आज सम्झौतामा हस्ताक्षर गर्नुभयो।

आयोजनाअन्तर्गत सडकमा पाइप लाइन बिच्छ्याइने क्रममा पाइप खनिएका सडकमध्ये सडक विभाग अन्तर्गतका सडकको पुनःस्थापना आगामी दुई वर्षमा सम्पन्न गर्ने गरी रु ८४ करोड बजेट व्यवस्था गरिएको छ । सम्झौतानुसार निर्देशनालयले पाइप लाइन बिच्छ्याउने कार्यतालिका विभागलाई पहिले नै उपलब्ध गराइनेछ ।

सम्झौतापछि विभाग अन्तर्गत पर्ने उपत्यकाका १०३ किमी (बाँसबारी–नारायणगोपाल चोक–पानीपोखरी हुँदै लैनचौर, चाबहिलचोक–गौशाला–नयाँ बानेश्वर–तीनकुने हुँदै माइतीघर तथा थापाथली–जावलाखेल हुँदै एकान्तकुना लगायत) सडक खन्न छुट्टै अनुमति लिइरहनु नपर्ने भएको छ ।

विभागले पाइप बिच्छ्याएका सडकको पुनःस्थापना प्रक्रिया तत्काल सुरु गर्नेछ । पुनःस्थापना गर्दा सम्बन्धित सडकको विद्यमान गुणस्तर कायम गरिनेछ । सम्झौतानुसार निर्देशनालयले वितरण प्रणालीको कार्यतालिका बमोजिम विभाग अन्तर्गतका सडकमा पाइपलाइन बिच्छ्याइसकेपछि पाइप राख्न खनिएको खाल्डोको भाग पुर्नेछ । पुरिएका ठाउँमा कालोपत्रको काम विभागले गर्नेछ ।

अर्थ मन्त्रालयलाई जानकारी गराई गरिएको सम्झौता कार्यान्वयन र सहजीकरण गर्न भौतिक पूर्वाधार मन्त्रालय, निर्माण तथा यातायात महाशाखाका प्रमुखको संयोजकत्वमा आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक, मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका निर्देशक सहितको समन्वय समिति गठन हुने व्यवस्था गरिएको छ ।

सम्झौतापछि विभागका महानिर्देशक कार्कीले निर्देशनालयले पाइप बिच्छ्याउन सुरु गरेपछि नै ठेक्का आह्वान गरेर सडक कालोपत्रको प्रक्रिया सुरु गरिने भएकाले पहिले जस्तो सडक अलपत्र नहुने जिकिर गर्नुभयो । पाइप लाइन बिच्छ्याउने कार्य तीव्र गतिमा अगाडि बढाउन दुई निकायबीचको सहमतिले उत्साहित बनाएको बताउँदै निर्देशनालयका आयोजना निर्देशक खत्रीले यसबाट योजना समयमै सम्पन्न गर्न बल पुग्ने बताउनुभयो ।

“सरकारी निकायकैबीचमा समन्वय छैन भन्ने गुनासो आइरहेका बेला हामीले विभागसँग सहकार्य गरेर सकभर उपत्यकावासीलाई कम मर्का पर्ने गरी पाइप लाइन राख्ने काम अघि बढाउँछौँ, समन्वयको यो थालनी अन्य निकायका लागि पनि अनुकरणीय हुन सक्छ”– उहाँले भन्नुभयो । निर्देशनालयले हालसम्म वितरण सञ्जालको ३५२ किमी र थोक वितरण प्रणालीको २२ किमी पाइप बिच्छ्याउने काम सम्पन्न गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button