निर्वाचन सम्पन्न भएकोमा जापानी राजदूत खुशी

पोखरा न्युज –

नेपालका लागि जापानी राजदूत मासासी ओगावाले नेपालमा बीस वर्षपछि स्थानीय निर्वाचन सहज ढंगले सम्पन्न भएकोमा खुशी व्यक्त गर्नुभएको छ ।

विराटनगर महानगरपालिकाद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले नेपालमा नयाँ संविधान जारी भएको र यसले नेपालीहरुलाई राम्रो गर्ने विश्वास प्रकट गर्नुभयो । जापान र नेपालबीच घनिष्ठ सम्बन्ध रहेको प्रसंग उल्लेख गर्दै राजदूत ओगावाले नेपालको दोस्रो ठूलो सहर विराटनगरको विकासका लागि केही गरौँ भन्ने सोचाइ रहेको जानकारी गराउनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नेपाल र जापानबीच सांस्कृतिक सम्बन्ध पनि रहेको उल्लेख गर्दै विराटनगरमा खानेपानीको समस्या रहेको र यो समस्या समाधानका लागि जापान सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो ।

विराटनगर महानगरपालिकाका कार्यकारी अधिकृत दीपक कोइरालाले विराटनगरमा अहिलेपनि ४० प्रतिशत जनताले चापाकलको पानी उपभोग गर्ने गरेको र खानेपानीका एकसय वर्ष पुराना पाइप बिछ्याइएको अवस्था रहेकाले नयाँ खानेपानी पाइपलगायत विकास कार्यका लागि जापान सरकारको सहयोग चाहिएको उल्लेख गर्नुभयो ।

सांसद नारायण खड्काले जापानले नेपालको विकासमा ठूलो साझेदारको भूमिका निर्वाह गरेको प्रसंग उल्लेख गर्दै जापानले नेपालको आन्तरिक मामिलामा कहिल्यै पनि चासो नराखेको र मुलुकको समृद्धि र विकासको चाहना मात्र राखेको स्पष्ट पार्नुभयो । रासस
––––––––

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button