विश्व बैंकले उर्लाबारीमा दुई सय करोड लगानी गर्ने

पोखरा न्युज ।

विश्व बैंकले उर्लाबारी नगरपालिकामा करिब २०० करोड लगानी गर्ने भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara

शहरी विकास मन्त्रालयमार्फत विश्व बैंकले नगरपालिकाको दीर्घकालीन विकास तथा रणनीतिक योजनामा रु २०० करोडसम्मको लगानी गर्न लागेको हो । मन्त्रालयले पूर्वका चार शहरलाई नमूना शहरका रुपमा विकास गर्ने योजनाअन्तर्गत उर्लाबारी नगरपालिकालाई समेत छनोट गरिएको थियो । विश्व बैंकले लगानी गर्ने भएपछि उर्लाबारी नगरपालिकाले नगरभित्रका विभिन्न २० वटा योजना प्रस्ताव गरेको छ ।

नगरपालिकाले प्रस्ताव गरेका योजनामा विस्तृत अध्ययन गरेर परामर्शदाताले उत्कृष्ट तीन वटा योजनालाई अन्तिम रुप दिनेछ । अन्तिम रुप दिइएका दीर्घकालीन र नगरको रणनीतिक महत्व बोकेका तीन वटा योजनामा विश्व बैंकले लगानी गर्नेछ । स्रोतका अनुसार विश्व बैंकले लगानी गर्ने योजना न्यूनतम रु २० करोडभन्दा माथिका हुनेछन् । उर्लाबारी नगरपालिकाले बर्षाको समयमा जम्मा हुने सतहको पानीलाई पूर्वमा मावा र पश्चिममा सुनझोडा खोलामा खसाल्नुपर्ने, पूर्व–पश्चिम राजमार्गदेखि दुई किमी उत्तर–दक्षिण बक्राह र मावा खोलामा तटबन्ध गर्नुपर्ने, उर्लाबारीका नौवटै वडालाई छुने गरी रिङरोड निर्माण गर्नुपर्ने, राजघाट, बक्राह, रातेहोली समेतलाई जोड्ने गरी सिँचाइको व्यवस्था, सुनझोडा चन्दने हुँदै सिक्टी मार्ग जोड्ने पुल निर्माण, आधुनिकस्तरको ल्याण्डफिल्ड साइटको व्यवस्था, बक्राह, तेली र बाहुनी खोलामा पुल निर्माणसहित २० वटा योजना पेश गरेको छ ।

साथै सिमाना बस्तीदेखि मधुमल्ला रोडमा ढल निकास, उर्लाबारी– ३ सालबारीमा रंगशाला निर्माण, कृषि बजार तथा कोल्ड स्टोरेज निर्माण गर्न पनि प्रस्ताव पेश गरेको छ । यिनै योजनामध्येबाट उत्कृष्ट तीन वटा योजना छनोट गरी यसै वर्षभित्र डिपीआर तयार गर्नेगरी काम भइरहेको प्रमुख परामर्शदाता अजयचन्द्र लालले जानकारी दिनुभयो । डिपीआर तयार गरी शहरी विकास मन्त्रालयलाई प्रतिवेदन बुझाएपछि आगामी आर्थिक वर्षदेखि योजना निर्माणको काम शुरु हुने उहाँले बताउनुभयो । विश्व बैंकले उर्लाबारीसँगै मोरङको सुन्दरहरैँचा तथा झापाका दमक र विर्तामोडमा पनि लगानी गर्ने भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button