सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट यस बर्ष श्रेष्ठ पुरस्कृत हुने

पोखरा न्युज ।

यस बर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट रेडियो तथा टेलिभिजनकर्मी सुरज श्रेष्ठ पुरस्कृत हुने भएका छन । सहारा क्लब पोखराले विगत ११ बर्ष देखि निरन्तर प्रदान गर्दै आएको सहारा खेलकुद पत्रकारिता पुरस्कार, यस बर्ष १२ औ संस्करणबाट पत्रकार श्रेष्ठलाई सम्मान गरिने भएको क्लवले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पोखरा एफ एम का संवाददाता एवँ प्रस्तोता समेत रहेका श्रेष्ठले पोखरा टेलिभिजनमा विगत २ बर्ष अगाडी देखी कार्यक्रम संयोजकको भुमिका निभाउदै आएका छन भने उनले पोखरामा विगत डेढ दशक देखि पत्रकारीता गर्दै आएका छन । प्रतिभा छनौट समितिको सिफारिश बमोजिम क्लबको कार्यकारिणी समितिको हालै बसेको बैठकले छनौट समितिको सिफारिशलाई अनुमोदन गरेको हो । उक्त पुरस्कारको राषि नगद १५ हजार ५ सय ५५ र साथमा ताम्रपत्र, दोसल्ला रहेको छ ।

पोखरा सृजनाचोकमा रहेको रवि महल पार्टी प्यालेसमा सहारा क्लब पोखराको आगामी १९ औं बार्षिकोत्सव तथा १० औं अधिवेसनको अवसरमा यही भाद्र ३० गते प्रदान गरिने भएको क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए । उक्त पुरस्कारले खेलकुद पत्रकारितामा थप टेवा पुग्ने उद्धेश्यले आफुहरुले पुरस्कारलाई निरन्तरता दिदै आएको उनले जनाए ।

उक्त पुरस्कारको निम्ति कास्की जिल्लालाई कार्यक्षेत्र बनाई कम्तिमा पनि ५ बर्ष निरन्तर पत्रकारिता पेशामा आबद्ध भएको, प्रतिभा छनौट समितिका सदस्य पुरस्कारको निम्ति योग्य नहुने, खेलकुद पत्रकारिता (विट जर्नालिजम) लाई उच्च प्राथमिकता दिएको छापा वा विद्युतिय पत्रकारितामा संग्लन हुनुपर्ने मापदण्ड निर्धारण गरेको थियो । २०६३ सालमा स्थापित सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट हालसम्म कुलचन्द्र न्यौपाने, २०६४ धन बस्नेत, २०६५ विनोद लामिछाने, २०६६ प्रेम नारायण न्यौपाने, २०६७ राम गुरुङ्ग, २०६८ दीननाथ बराल, २०६९ प्रदिप पौडेल, २०७० एकराज गिरी, २०७१ सागरराज तिमिल्सिना, २०७२ मा कृष्णमणि बराल र २०७३ मा एम बि आस्था मगर यस पुरस्कारबाट पुरस्कृत भई सकेका छन ।

प्रतिभा छनौट समितिमा संयोजक नारायण कार्की, पत्रकार महासंघ,कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ , पश्चिमाञ्चल क्षेत्रीय फुटबल संघका अध्यक्ष खेम बहादुर गुरुङ्ग, कास्की जिल्ला खेलकुद विकास समितका अध्यक्ष यम बहादुर गुरुङ्ग, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशब पाठक, क्लबका सल्लाहकार सभापति विक्रम थकाली, अध्यक्ष वीरभद्र आचार्य, वरिष्ठ उपाध्यक्ष केशब बहादुर थापा र महासचिब केशबराज बराल समेतको ९ सदस्यीय प्रतिभा छनौट समिति रहेको थियो ।

त्यस्तै संस्थाले प्रत्येक बर्ष प्रदान गरिने सहारा उत्कृष्ट पुरस्कार २०७४ बाट यस बर्ष संस्थाका आजिवन सदस्य महेश रानाभाटलाई पुरस्कृत गर्ने सर्वसम्मत निर्णय समेत गरेको क्लवले जनाएको छ । साथै २०५८ सालको सहारा फुटबल एकेडेमीका उत्पादन नेपाल फुटबल टिम क्याप्टेन अनिल गुरुङलाई समेत सम्मान गरिने भएको छ । २०६१ सालको सहारा फुटबल एकेडेमीका उत्पादन लक्ष्मण जि. सी. नेपाल फुटबल टिमको यूथ २३ छनौट हुन सफल भएकोमा प्रशंसा पत्र प्रदान गरी बार्षिकोत्सवको अवसरमै सम्मान गरिने भएको छ । क्लवले आफ्नो बार्षिकोत्सवको अवसरमा भदौ २८ गते बसपार्क सरसफाई गर्ने र भदौं २९ गते खुल्ला रत्तंmदान कार्यक्रम आयोजना गर्ने भएको महासचिब केशबराज बरालले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button