पर्वतको दुर्लुङमा छाँगावरोहण खेल सञ्चालन हुँदै

पोखरा न्युज ।

साहसिक पर्यटनमा रुचि राख्ने स्वदेशी एवं विदेशीका लागि अग्ला झरनाबाट झर्ने क्यानोनिङ (छाँगावरोहण) खेल पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङस्थित महभिर झरनामा सञ्चालन हुने भएको छ ।

जिल्लाकै मनोरम खोला र बाह्रैमास एकैकिसिमले बगिरहने उक्त खोलामा क्यानोनिङ सञ्चालन गर्ने तयारी गरिएको हो । हिमाल आरोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, बञ्जीजम्प जस्तै साहसिक पर्यटकीय गतिविधिका रुपमा हिमाली र पहाडी क्षेत्रमा रहेका अग्ला पहाडका झरनामा क्यानोनिङ खेलको विकास गर्न सकिने सम्भावनालाई लक्षित गर्दै धौलागिरिमै पहिलोपटक क्यानोनिङको तयारी गरिएको सञ्चालक उद्धिमबहादुर गुरुङले जानकारी दिनुभयो ।

क्यानोनिङका लागि उक्त खोलामा सम्भाव्यता अध्ययन भइसकेको र दशैँलगत्तै सञ्चालनमा ल्याउने तयारी गरिएको उहाँले बताउनुभयो । पर्वत सदरमुकाम कुश्माबजारबाट झण्डै सात किमीको दूरीमा अवस्थित उक्त स्थानमा गुरुङ बस्तीको बाहुल्यता रहेको छ ।

स्थानीय चनौटेमा होमस्टे विस्तार र महभिर खोलामा क्यानोनिङ एकैपटक शुरु गरिने गुरुङले जानकारी दिनुभयो । उक्त स्थानसम्म पुग्नका लागि ग्राभेलिङ सडकको व्यवस्था रहेको छ । कुश्माबजारबाट आधा घण्टामै पुग्न सकिने तथा नेपालको मुख्य पर्यटकीय शहर पोखराबाट समेत साढे दुई घण्टाको दूरीमा उक्त स्थानमा पुग्न सकिने भएकाले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्ने गुरुङको विश्वास रहेको छ ।

यहाँ गुरुङ समुदायमा रहेको होमस्टेमा अर्गानिक खाना, दिउँसोमा क्यानोनिङलगायत उक्त क्षेत्रमा रहेका वनजंगल, जडीबुटी र वन्यजन्तु शिकारलगायतका प्याकेज कार्यक्रम बनाउनेसमेत तयारी भएको बताइएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button