अन्नपूर्ण पदमार्गमा अन्तराष्ट्रिय याक अट्याक साइकल दौड सुरु

पोखरा न्युज ।

विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने साइकल दौड प्रतियोगिताको ११ औँ संस्करण आजदेखि शुरु भएको छ ।

उच्च हिमाली क्षेत्रअन्तर्गत अन्नपूर्ण पदमार्गमा आयोजना गरिएको ‘याक अट्याक २०१७’ साइकल दौड प्रतियोगिता बेंसीशहरबाट शुरु भएको हो । अघिल्लो वर्ष काठमाण्डौबाट शुरु भएको प्रतियोगिताको दशौँ र ११ औँ संस्करण बेंसीशहरबाट शुरु भएको हो । समुद्री सतहदेखि पाँच हजार ४१६ मि उचाइमा पर्ने थोराङ्ला भञ्ज्याङ पास गर्ने गरी प्रतियोगिता शुरु भएको हो ।

दश दिनसम्म सञ्चालन हुने सो प्रतियोगितामा नेपालसहित १० देशका ३१ प्रतियोगी सहभागी छन् । प्रतियोगितामा एक महिलासहित आठ नेपालीले सहभागिता जनाएका छन् ।

प्रतियोगिताका विजेताले १२५० अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो हुनेले ७५० डलर र तेस्रोले पाँच सय डलर पुरस्कार प्राप्त गर्नेछन् । पहिलो दिन प्रतियोगी मनाङको ताल पुग्नेछन् । मनाङको ताल हुँदै माथिल्लो मनाङ, पाँच हजार ४१६ मि उचाइको थोराङ्ला भञ्ज्याङ गरी मुक्तिनाथ, जोमसोमबाट पोखरा आएर प्रतियोगिता सम्पन्न हुनेछ ।

बेलायती फिल इभान्सको आयोजना र नेपालको यति ट्राभल्सको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगिताका लागि नेपालको उच्च हिमाली क्षेत्र उत्तम भएकाले प्रत्येक वर्ष नेपालमा प्रतियोगिता आयोजना गरिएको निर्देशक इभान्सले बताउनुभयो ।

प्रतियोगिताबाट नेपालको पर्यटन प्रबद्र्धनका लागि सहयोग पुग्ने इभान्सको भनाइ छ । पैदल यात्राका लागि साहसिक मानिएको अन्नपूर्ण पदमार्गमा साइकल दौड प्रतियोगिता आयोजना हुँदा विश्वकै ध्यान केन्द्रित भएको उहाँले बताउनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button