कास्कीमा काँग्रेस र बाम गठबन्धन बीच कडा प्रतिस्पर्धा, हेर्नुहोस यस्तो छ अवस्था

पुरानलाई साख जोगाउने कसरत, नयाँले अस्थित्व खोज्दै

धन बस्नेत, पोखरा न्युज ।

चुनावको लागि समय पर्याप्त छ । उम्मेदवार प्रचारप्रसारमा जुटिरहेका छन् । घरदैलो अभियानमा चलिरहेको छ । तर समय भने प्रतिकुल जस्तै देखिएको छ । मंसिर नजिकिदैं गर्दा किसानलाई भने वर्षदिनको लागि अन्न जोहो गर्न खेतबारीमा व्यस्त छन् । धान थन्क्याउने चटारो छ । तर उम्मेदवारलाई आफनो पक्षमा भोट माग्दै हिडिरहेका छन् ।

नयाँ पुराना एकै ठाँउमा छन् । चुनावी प्रतिस्पर्धामा आफनै नारा छन् । कास्कीलाई विकासको खाका कोर्ने अभियानमा मुख्य दलहरुले आफनो नारालाई पुरा गर्ने प्रतिबद्धता समेत गरिरहेका छन् । त्यही नारामा आफनो मत जाहेर गर्ने पक्षमा जनता छन् । नयाँले राजनीतिक छविलाई उचाईमा पुर्याउने तथा पुरानाले आफनो शाखलाई जोगाई राख्ने प्रतिस्पर्धा छ ।

कास्कीमा ३ क्षेत्र छन् । तीनै क्षेत्रमा बाम गठबन्धन र नेपाली काँग्रेस बीच तिब्र प्रतिस्पर्धा हुने देखिएको छ । दुई पार्टीको प्रतिस्पर्धासँगै राष्ट्रिय जनमोर्चा, संघीय समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली काँग्रेस विपी, विवेकशील, नेपाल दलित पार्टी लगायत अन्य पार्टीले आफनो अस्थित्व खोज्ने छन् ।

दुई मन्त्री आमने सामने

कास्कीमा दुई मन्त्रीको प्रतिस्पर्धा रोचक हुने प्रष्टिएको छ । बर्तमान कानून मन्त्री यज्ञबहादुर थापा र पुर्व स्वास्थ्य मन्त्री खगराज अधिकारी बीचको प्रतिस्पर्धाले सिंगो कास्कीलाई चुनावमय बनाईदिएको छ । काँग्रेसका थापा र बाम गठबन्धनका अधिकारी कास्की १ को प्रतिनिधि सभाका उम्मेदवार हुन् । थापाको यो चुनावी प्रतिस्पर्धा तेस्रो हो । तेस्रो प्रतिस्पर्धा गरिरहदाँ थापा एक विजयी र एक पराजित हुन् । मादी र रुपा गाउँपालिकासँगै महानगरपालिका केही वडाले १ को प्रतिनिधित्व गर्छ ।

थापा ०७० सालको चुनावमा पोखरा महानगरपालिकाका बर्तमान मेयर मानबहादुर जिसीलाई पराजित गर्दै सांसद हुदैं मन्त्रीमा पुगेका हुन् । हुन त अधिकारी थापा भन्दा अघि मन्त्री बनेका हुन् । तर उनी चुनाव जितेर भने गएका होइनन् । दुवैको जन्मथलो क्षेत्र नं १ नै हो । दुवै यतिबेला आफनो शाख जोगाउने अभियानमा छन् । थापा आफनो बर्तमान छविलाई अझ उचाईमा पुर्याउने योजनामा लागिपरेका छन् । अधिकारी भने बाम गठबन्धनको इज्जतलाई शिरोपर गर्न कम्मर कस्सिएका छन् ।

थापा ०७० सालको दोस्रो सविधान सभाको चुनावमा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई पराजित गर्दै सांसद बनेका हुन् । प्रदेश अन्तर्गत १ खमा पनि हेभिवेट प्रतिस्पर्धा देखिएको छ । काँग्रेसको तर्फबाट जिल्ला सभापति कृष्ण केसी छन् । उनको प्रतिस्पर्धामा बाम गठबन्धन अन्तर्गत नेकपा एमालेका जिल्ला उपाध्यक्ष मनबहादुर गुरुङ छन् । दुवैको प्रतिस्पर्धा प्रतिष्ठासँग जोडिएको छ ।
प्रदेशतर्फ (क) मा जीवन परियार र दिपक कोइराला बीच प्रतिस्पर्धा हुदैं छ । परियार नेपाली काँग्रेसका केन्द्रीय सदस्य हुन् । कोइराला पनि माओवादीका सहइन्चार्ज हुन् । कोइरालाले पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराको चार वर्षे नेतृत्व समेत सम्हालिसकेका छन् ।

सभापति र उपाध्यक्षको प्रतिस्पर्धा

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीको चुनावी अभियान पहिलो हो । सभापतिको जिम्मेवारी सम्हाल्दै प्रदेश १ खको उम्मेदवार बनेका केसीले प्रतिस्पर्धी पनि नेकपा एमालेका जिल्ला उपाध्यक्ष मनबहादुर गुरुङसँगै गर्दै छन् । दुई बीचको चुनावी प्रतिस्पर्धाले पनि रोचक भिडन्तसँगै पार्टीको साखसँग जोडिएको छ । एउटै क्षेत्रका उनीहरुको प्रतिस्पर्धाले स्थानीयबासिन्दालाई पनि भोट हाल्न एक पटक सोच्नै पर्ने बाध्यता बनाईदिएको छ ।

दुवैको प्रतिस्पर्धा पहिलो हो । एक अर्काले आफनो जित हुने सम्भावनालाई औंल्याईरहेका छन् । काँग्रेसले घरदैलो अभियान थालिसकेको छ । कृष्ण केसीले आफनो क्षेत्रका वडाहरुलाई घरदैलो गर्दै भोट माग्न व्यस्त भईसकेका छन् । चुनावमा टेस्टेड हुन खोजीरहेका केसीले काँग्रेसको विकल्प अरु कुनै पार्टी नहुने जिकिर गरिरहेका छन् । “लोकतन्त्र समाजवाद र समृद्ध देश निर्माणको लागि काँग्रेसको विकल्प अरु हुदैनन् ।”उनले भने ।

दुई बौद्धिक व्यक्तित्वको भिडन्त

कास्कीको प्रतिनिधि सभा २ मा दुई बौद्धिक व्यक्तित्व चुनावी भिडन्तमा छन् । लामो समय विद्यार्थी राजनीतिमा समेत आफुलाई समाहित गरेका नेपाली काँग्रेसका देवराज चालिसे सह प्राध्यापक समेत हुन् । नेकपा एमालेका नेता अहिले बाम गठबन्धनका उम्मेदवार रविन्द्र अधिकारी बौद्धिक व्यक्तित्वमा पर्छन् । अधिकारी सांसदीय विकास समितिका सभापति समेत हुन् । अधिकारी दुई पटक कास्की क्षेत्र नं २ बाट निर्वाचित भईसकेका छन् । चालिसे भने चुनावी मैदानमा पहिलो हो, खरो उत्रिने तयारीमा छन् ।

अधिकारीले २०६४ सालमा माओवादी केन्द्र झलकपाणी तिवारी र २०७० सालमा काँग्रेसका सोभियतबहादुर अधिकारीलाई पराजित गर्दै दुईपटक सांसद बनिसकेका हुन् । अहिले उनलाई चालिसेले कडा चुनौति दिएका छन् । बाम गठबन्धन र नेपाली काँग्रेस बीच नै हुने प्रतिस्पर्धाले सबैको ध्यान केन्द्रीय भएको छ ।  दुईको पछिल्लो अभिव्यक्ति एक अर्काप्रति कटाक्ष गरिरहेका छन् । रविन्द्र अधिकारीले भने–“कम्युनिष्ट पराजित भए राजतन्त्र फर्कन्छ ।” उनले सार्वजनिक समारोह भनिरहँदा काँग्रेसका उम्मेदवार चालिसेले हसियाँ हथौडा(कम्युनिष्ट) पार्टी नै नेपालको लागि दुर्भाग्य भएको बताए । चालिसेले अधिकारीप्रति इंकित गर्दै थपे–“एउटा व्यक्तिले दुई पटक भन्दा बढी अवसर पाउनु हुदैन् भन्ने मान्यता सबैले राख्नुपर्छ ।”

नयाँ अनुहार

लामो समय राजनीति गरेपनि चुनावमा केही उम्मेदवारले भने अवसर पाएका छन् । काँग्रेसबाट कृष्ण केसी, देवराज चालिसे, गुरु बराल, विन्दुकुमार थापा, सिकन्दर गुरुङ –भोज),एमालेका मनबहादुर गुरुङ, बाम गठबन्धन(माओवादी केन्द्र)का दिपक कोइराला, गठबन्धनकै राजीव पहारी, नयाँ शक्तिका सौगात पोखरेल, सझा विवेकशीलका मिलन अधिकारी चुनावी मैदानमा नयाँ अनुहार हुन् । नयाँ अनुसारले आफनो अस्थित्वको खोजीमा जुटिरहेका छन् ।

महिला उम्मेदवार कम

महिला उपस्थितीको सुनिश्चितताको चासो र चर्चा बढिरहेका बेला राजनीतिमा उनीहरुको अर्थपूर्ण उपस्थिती झनै कमजोर बन्दै गएको छ । ठूला राजनीतिक दलहरुमा महिलालाई पत्याउने चलन अझै बसिसकेको छैन । साना दलहरुले पनि उनीहरुलाई हेर्ने दृष्टीकोण परिवर्तित भएको छैन । कास्कीमा आगामी मंसिर २१ गते हुने चुनावका लागि महिला उम्मेदवार खासै देखिएनन् । ठूला मानिएका काँग्रेस एमाले र माओबादीमा महिला उम्मेदवारको खडेरी नै लाग्यो । साना दलहरुले केही थान उम्मेदवारी महिलाको जिम्मा लगाएका छन् । नेपाली काँग्रेसले केही समानुपातिक पद्धती देखाएपनि अरु दलहरु महिलाका हकमा कमजोर देखिए ।

काँग्रेसले कास्की क्षेत्र नम्बर ३ को प्रदेशसभा अन्तर्गत (क) मा नेतृ शारदा पौडेललाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएका छन् । वाम गठबन्धनले भने जिल्लाका कुनैपनि क्षेत्रमा महिला उम्मेदवारलाई विश्वास गरेको छैन । एमालेले प्रदेश र प्रतिनिधीसभाका लागि प्रत्येक क्षेत्रबाट महिलालाई सिफारिस गरेपनि निर्णय हुँदा महिला उम्मेदवार परेनन् । जिल्लाभर १ सय १ जनाले दावेदारी दिँदा महिलाको संख्या ११ जना मात्रै छ ।
प्रतिनिधि सभा अन्तर्गत क्षेत्र नम्बर १ र ३ मा एकजना पनि महिला उम्मेदवार छैनन् । क्षेत्र नम्बर २ मा राष्ट्रिय जनमोर्चाबाट दालकुमारी खत्री, संघीय समाजवादी फोरमबाट रत्न भट्टचन र नेपाल दलित पार्टीबाट लक्ष्मी विश्वकर्मा उम्मेदवार बनेकी छिन् । प्रदेशसभा अन्तर्गत पनि क्षेत्र नम्बर १ (क) मा राष्ट्रिय जनमुक्ति पार्टीकी सीता श्रीसमगर र मंगोल नेशनल अर्गनाइजेसनकी जानु गुरुङलाई टिकट दिईएको छ । १ नम्बर क्षेत्रकै (ख) मा संघीय समाजवादी फोरम नेपालबाट काशीमाया गुरुङ मात्रै उम्मेदवार छिन् । २ (क) मा राप्रपाले महिला उम्मेदवार अघि सारेको छ । राप्रपाबाट विष्णु खड्का प्रदेशसभा सदस्यकी उम्मेदवार बनेकी छिन् । २ (ख) मा नेपाल दलित पार्टीबाट मिठु परियार र (ख) मा राप्रपाले धनुमाया कोइराला आचार्य तथा नेपाल दलित पार्टीले कमला विकलाई उम्मेदवार बनाएर मनोनयन समेत दर्ता गरिसकेका छन् ।

कास्कीमा २ लाख ५५ हजार मतदाता छन् । मतदानका लागि ३ सय १७ मतदान केन्द्र तोकिएको छ । क्षेत्र नम्बर १(क) मा ५० हजार २ सय ८९, (ख) मा ४५ हजार ७ सय ९५, २ (क) मा ३७ हजार ६ सय ४३, (ख) मा ३३ हजार ८, ३(क) मा ४६ हजार २ सय ५२ र ३ (ख) मा ४२ हजार ४ सय ६५ जना मतदाता रहेको निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button