कास्की क्षेत्र १ का बाम गठबन्धनको साझा प्रतिबद्धता : प्रत्येक परिवारमा २ जनालाई रोजगारी

प्रत्येक परिवारमा एक महिला र एक पुरुषलाई रोजगारी उपलब्ध गराउने बाम गठबन्धनका उम्मेदवारहरुले प्रतिबद्धता गरेका छन् । कास्की क्षेत्र १ का बाम गठबन्धनका उम्मेदवारहरुले शुक्रबार घोषणापत्र सार्वजनिक गर्दै ५ वर्ष्भित्र रोजगारीका प्रशस्त अवसर सिर्जना गर्ने बताए ।

नेकपा एमाले र माओवादी केन्द्रको साझा प्रतिबद्धता पत्रमा भूमिको वैज्ञानिक व्यवस्थापन गरिने उल्लेख गरिएको छ । घरपरिवार बिहीन सुकुम्बासी, विपन्न र पछाडि परेका समुदायका परिवारलाई ५ वर्ष्भित्र जग्गाको लालपूर्जा सहितको घर उपलब्ध गराइने घोषणा पत्रमा उल्लेख छ ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै कास्की क्षेत्र नं. १ का प्रतिनिधिसभाका साझा उम्मेदवार खगराज अधिकारीले सम्पूर्ण प्रतिबद्धताहरु पुरा गर्ने दावी गरे । बामपन्थीहरुको बहुमतसहितको सरकार बन्ने भएकाले पनि प्रतिबद्धता पुरा गर्न समस्या नहुने उनले बताए । लेखनाथका तालहरुलाई जोडेर पर्यटनको केन्द्रका रुपमा विकास गरिने अधिकारीले प्रतिबद्धता व्यक्त गरे ।

क्षेत्र नं. १ अन्तर्गत प्रदेशसभा १ का साझा उम्मेदवार दीपक कोइरालाले गाउँपालिका र महानगरका वडाहरुको समन्वयमा आवश्यकताका आधारमा एकीकृत सेवाकेन्द्रहरु स्थापना गरिने बताए । कृषि, वन, प्रविधि, स्वास्थ्य, इन्जिनियरिङ, भेटेरिनरी र कानुन सम्बन्धी सेवा प्रदान गरिनुका साथै स्वआर्जनसँग सम्बन्धित सिपहरु विकास गर्ने कार्यक्रम सञ्चालन गरी स्वरोजगारी सिर्जना गरिने उनले बताए ।

गठबन्धनबाट प्रदेशसभा २ का साझा उम्मेदवार मनबहादुर गुरुङले पूर्वी कास्कीभर यातायात र सञ्चार सञ्जाल बिस्तार गरिने बताए । विद्युत ऊर्जाबाट आर्थिक समृद्धि हाँसिल गरिने उनको भनाइ छ । पोखरा सिक्लेस जोड्ने बाटोको कालेपत्रे गर्दै सडक अन्तर्गतका खोलाहरुमा पक्की पुल निर्माण गरिने गुरुङले प्रतिबद्धता व्यक्त गरेका छन् । ‘हाम्रा साझा प्रतिबद्धता पुरा गर्नेछौं,’ उनले भने, ‘ढुक्क भएर गठबन्धनलाई जिताउन मतदान गर्न अपिल गर्दछौं ।’

कार्यक्रममा बोल्दै कास्की क्षेत्र नं. १ का निर्वाचन परिचालन समिटिका संयोजक श्रीनाथ बरालले बाम गठबन्धनका साझा प्रतिबद्धताहरु पुरा भएरै छाड्ने दावी गरे । ‘गठबन्धनका उम्मेदवारहरुको जित सुनिश्चित भइसकेको छ,’ उनले भने । प्रचार प्रसार संयोजक दिलीप न्यौपानेले दीगो विकास र आर्थिक समृद्धिका लागि बाम गठबन्धनको जित अनिवार्य रहेको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button