आतंक फैलाउन खोज्नेको जरै उखेल्छौँ : गृहमन्त्री बादल

पोखरा न्युज – वैशाख १३ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले देशमा शान्ति सुरक्षामा अवरोध पुर्याउने र आतंक फैलाउनेको जरै उखेल्ने बताएका छन् ।

आज मध्यपुर थिमिस्थित नेपाल–कोरिया मैत्री अस्पताल पुगेर गत शनिबारको सांघातिक आक्रमणमा घाइते हुनुभई उपचार गराइरहेका मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उनले यस्तो बताएका हुन् ।

उनले भने, “अहिले एउटा समूह देशमा शान्ति सुरक्षामा अवरोध पुर्याउने र आतंक फैलाउने कार्यमा सक्रिय हुन खोज्दैछ । हामी त्यसलाई जरैदेखि उखेल्छौँ ।”

नगर प्रमुख श्रेष्ठमाथि आक्रमण गर्नेको पहिचान भइसकेको र केही नियन्त्रणमा पनि आइसकेको बताउँदै उनले आक्रमणकारी जो कोही भएपनि कारबाही गर्ने दृढता प्रकट गरे ।

भेटलगत्तै अस्पताल कार्यकक्षमा सुरक्षा निकायसँग घटनाका बारेमा उनले जानकारी लिएका थिए । उनले सिसी क्यामरामा कैद भएका आक्रमणका दृश्यसमेत हेरेका थिए । जिल्लाका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल र प्रहरी उपरीक्षक किरण राणाले घटनाका बारेमा जानकारी दिँदै अनुसन्धानका बारेमा भएका प्रगतिबारे मन्त्री थापालाई अवगत गराएका थिए ।

उनले अस्पतालका बारेमा समेत जिज्ञासा राख्नुभएपछि नगरपालिकाका प्रशासकीय प्रमुख कमल ज्ञवालीले नगरपालिकाद्वारा सञ्चालित अस्पतालको अवस्था र प्रगतिबारे समेत अवगत गराएका थिए ।

अस्पतालमा सहभागी नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रका स्थानीय नेताहरुले एमाले र माओवादी केन्द्रको पार्टी एकीकरणबारे जिज्ञासा राखेका थिए । मन्त्री थापाले पार्टी एकीकरण कुनै हालतमा नरोकिने बताएका थिए । उनले जनताको चाहना पार्टी एकीकरण भएर जाने भएकाले जनचाहनाअनुरुप नै दुई पार्टी एक भएर जाने बताए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button