विना धितो कर्जा उपलब्ध गराउन माग

लघु उद्यमशिलताले आर्थिक विकास हुन्छ : मुख्य मन्त्री गुरुङ

पोखरा न्यूज – २७, जेठ ।

प्रदेश नम्बर ४ का उद्यमी तथा व्यवसायीलाई उद्यमशिलताको लागि विना धितो ऋण उपलब्ध गराउनु पर्ने आइतबार पोखरामा आयोजित एक कार्यक्रमका बक्ताले माग गरेका  छन।

प्रदेश नम्बर ४ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा आइतबार पोखरामा भएको गरिबी निवारण तथा आर्थिक समृद्धिका लागि उद्योग, उद्यमशिलता विकास तथा लघु उद्यम विकास मोडेल सम्बन्धी अभिमुखिकरण  गोष्ठीमा वोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन। उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालय काठमाण्डौंको समन्वयमा लघु उद्यम विकास कार्यक्रम (मेडेप) को प्राविधिक सहयोगमा संचालन भएको कार्यक्रममा प्रदेश ४ मा धेरै लघु उद्यमशिलताका सम्भावना भएकोले यसबाट गरिबी निवारण, रोजगार सृजना गर्न विना धितो ऋण उपलब्ध गराउनु पर्ने माग सहभागि तथा सरोकारवालाहरुले गरेका हुन ।

उक्त कार्यक्रमको उद्घाटन गर्दै प्रदेश ४ का मुख्य मन्त्री पृथ्बीसुव्वा गुरुङले प्रदेश सरकारले प्रदेशमा आवश्यक पर्ने बस्तु तथा सेवाको उत्पादन गर्न आर्थिक बर्ष २०७५÷०७६ को बजेट निती तथा कार्यक्रममा समेट्ने गरी कार्यक्रम ल्याउने तयारी भएको बताए । प्रदेश ४ को पर्यटन, उर्जा, कृषि, उद्योग र पुर्वाधार निमार्ण विकासको आधार रहेको बताउदै यसको लागि लघु उद्यमशिलताको विकासले धेरै रोजगार सृजना हुने उनले दाबी गरे । उनले भने “लघु उद्यमशिलताको विकासले रोजगार निमार्ण हुदा जनताको जिवनस्तर उकासिन्छ जसले गर्दा गरिवी निवारण गरी आफ्नो प्रदेशमा उत्पादन बढाउन सकिन्छ । ” ठुला उद्योगमा निजी क्षेत्रले गरेको लगानीलाई सुरक्षित पारी लगानी मैत्री वातावरण तयार मात्र पारे हुने तर लघु उद्योगमा सरकारले समन्वय र सहयोग गर्दा स्वदेशमा लाखौं युवालाई रोजगार सृजना गर्न सकिने उनको भनाई थियोे । उनले भने “प्रादेशीक संरचनाको पहिलो अभ्यासमा हामी छौं, हामीले निती निमार्ण देखि उद्यमशिलताको विकासको लागि संरचना समेत तयार पार्नु पर्छ, युवा बर्गलाई स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्न सिप मुलक तालिम दिने र उनीहरुले उत्पादन गरेका बस्तु तथा सेवाको बजारीकरण गर्न सरकार तयार हुनु पर्छ ।”

उद्योग मन्त्रालयका सचिव यामकुमारी खतिवडाले लघु उद्यम विकास कार्यक्रम २० बर्ष देखि नेपालमा संचालन भए पनि अब यसलाई सरकारको लगानीमा निरन्तरता दिनुपर्ने बताईन। उद्यमशिलताको विकासको लागि संघिय सरकारले एक अर्व बजेट विनियोजन गरेको उनले बताईन। स्वदेशी उत्पादनको संग्रह गरी केन्द्र बनाउने योजनाका साथ अब प्रदेश सरकारहरु लाग्न आग्रह गर्दै सचिव खतिवडाले यसको केन्द्रमा पनि एउटा प्रदर्शनी केन्द्र स्थापना गर्ने योजना भएको बताईन । अष्ट्रेलियन सरकार र युएनडिपीको सहयोगमा उक्त कार्यक्रम संचालन भएको हो ।

प्रदेश सभा विपक्षि दलका नेता कृष्णचन्द्र नेपालीले समाजवाद अर्थतन्त्रबाट आर्थिक विकास र सृमद्धि हासिल गर्न सकिने बताए । उनले भने “ अब हामीले विकास नगरी सुख्खै छैन, आर्थिक विकास र समृद्धिको लागि हामीले जनतालाई दिएको यो नारा सफल पार्नु पर्छ, अन्यथा हामीलाइ अब जनताले छुट दिनेछैनन। ” प्रदेश नम्बर ४ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले नेपाली उत्पादनलाई ब्राण्डीङ गरी विदेशी मुद्रा आजून गर्न सकिने बताए । लघु उद्यमले समृद्धि र विकास गराउने बताउदै मन्त्री लम्सालले स्वदेशी उत्पादनको सौगात गृह बनाउनु पर्नेमा जोड दिए । मेडेपका प्रवन्धक डा. रामजी न्यौपानेले लघु उद्यमशिलताको लागि सानो सानो पुंजिको ब्याबस्था गर्नुपर्ने बताए । लघु उद्यमशिलता र प्राविधिकमा जनताको पहुच पु¥याउनु पर्ने उनको जोड थियो ।

उद्योग, पर्यटन, बन तथा बातावरण मन्त्रालयका सचिव बुद्धिसागर पौडेलले ज्ञान, सिप र अनुभवले व्यक्तिमा उद्यमशिलताको विकास हुने दाबी गरे । प्रदेश ४ का सांसदहरु इन्द्रधारा विष्ट, प्रभा कोईराला, कृष्ण थापा, विन्दुकुमार थापा, उद्योगी तथा व्यवसायी हरिहर थापा, महाप्रसाद सुवेदी लगायतले प्रदेश नम्बर ४ को गरिबी निवारण र आर्थिक समृद्धिको लागि लघु उद्यमशिलता पहिलो आवश्यकता भएकोमा जोड दिएका हुन।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button