संघिय सरकारले हस्तक्षेप गरे टुलुटुलु हेरेर नबस्ने पर्यटन मन्त्री लम्सालको चेतावनी

पोखरा न्यूज -१७ असार ।

प्रदेश नम्बर ४ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री बिकाश लम्सालले संघीय सरकारले हस्तक्षेप गरे प्रदेश सरकार टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएका छन् ।

नेपाल पर्यटन बोर्डको बजेट सम्बन्धी प्रदेश नम्बर ४ का पर्यटन व्यवसायीहरुसँग आइतबार पोखरामा गरिएको छलफल कार्यक्रममा बोल्दै मन्त्री लम्सालले प्रदेश सरकारको क्षेत्र अधिकारमा कुनै काम गर्दा संघिय सरकारले प्रदेश सरकारसंग छलफल र समन्वय गर्नु पर्ने अन्यथा हस्तक्षप गरे आफुहरुले अब टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएका हुन्। उनले भने,‘संघीय सरकारले अन्र्तराष्ट्रिय र केन्द्रीय स्तरको मात्र काम गर्नुपर्छ, प्रदेशमा हामी गर्छौं, हामीलाई काम गर्ने वातावरण दिनु पर्यो, आफ्नो काम नगर्ने अनि प्रदेशको काममा चाहिं हस्तक्षेप गर्ने ? यो अब चल्दैन, अब हामी टुलुटुलु हेरेर बस्दैनौं ।’

बिगतमा भएको परम्परा बन्द गर्न आग्रह गर्दै मन्त्री लम्सालले आगामी दिनमा संघिय सरकारले हस्तक्षेप निती अन्त्य नै गर्नुपर्ने बताए । उनले भने “ प्रदेशमा कुनै काम गर्नु पुर्व प्रदेश सरकारसँग सल्लाह, अनुमति लिनुस् अनिमात्र आउनुस्, नत्र अब देखि यसरी चल्दैन। ” उनले प्रदेश नम्बर ४ को पर्यटनबारे पर्यटन मन्त्री रबिन्द्र अधिकारीसँग केहि जिज्ञाशा राख्दा उनले खुलेर बोल्न नचाहेको टिप्पर्ढी गरे । उनले संघीयताको मर्मविपरित सबै काम केन्द्रबाटै गर्न खोजेको आरोप लगाए ।

नेपाल पर्यटन बोर्डको लागि भनेर सरकारले १ अर्ब २० करोड छुट्याउँदा पोखरास्थित पर्यटन बोर्डको क्षेत्रीय कार्यालयलाई यस अघि वार्षिक ५ करोड मात्र दिने गरेको उक्त रकम न्यून भएको मन्त्री लम्सालले दाबी गरे । उनले पर्यटन कायालय मार्फत पर्यट प्रवद्र्धनमा शून्य बराबरको काम भएको टिप्पर्णी गरे । बोर्डलाई गुरु योजना बनाएर काम गर्न निर्देशन दिदै मन्त्री लम्सालले प्रदेश ४ लाई रोजगार प्रदेशको रुपमा पहिचान गराउन खोजेको दाबी गरे । उनले भने “न्याय नपाए गोर्खा जानू भनेजस्तै अब रोजगार नपाए प्रदेश नम्बर ४ मा जानू भन्ने देशै भरी सन्देश दिने गरी अब हामीले पर्यटनबाटै आर्थिक बिकास र सृमद्धिको पहिलो आधार बनाउनु पर्छ । ” प्रदेश सरकारले त्यसका लागि पर्यटन, उर्जा, कृषि र उद्योगलाई प्राथमिकता दिएर बजेट तथा कार्यक्रम ल्याएको उनले प्रष्ट पारे ।

नेपाल पर्यटन वोर्डका कार्यकारिणी सदस्य तथा बजेट उपसमिति संयोजक कृष्णकुमार अर्यालले प्रदेशको अधिकार क्षेत्रबारे पहिले प्रष्ट हुन मन्त्रीलाई आग्रह गरे । उनले अब पर्यटकीय क्षेत्रहरुको व्राण्डिङ गरेर मात्र काम गर्ने योजना रहेको बताए । नेपाल पर्यटन बोर्डका अनुगमन मूल्यांकन महाशाखा निर्देशक काशीराज भण्डारीले पोखरा नै पर्यटनको केन्द्र भएको बताए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले पोखरा उत्सव र महोत्सवहरुको सहर भएको बताउँदै हरेक महिना महोत्सव पर्नेगरी तालिका बनाएर काम गर्न पर्यटन वोर्डलाई आग्रह गरे ।

पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्माले पोखरालाई पर्यटनको राजधानी भनिए पनि सोहि अनुसार बजेट बिनियोजन नभएको गुनासो गरे । पोखरा स्थित पर्यटन बोर्डको कार्यालयलाई स्वायत्त भएर बजेट खर्च गर्न दिनुपर्ने उनले माग गरे। पश्चिमाञ्चल होटल संघका अध्यक्ष बिकल तुलाचनल, रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङ, पर्यटन व्यवसायी गोबिन्दराज पहारी, लक्की क्षेत्री कार्की, जिवन सापकोटा, हरी भुजेल, नारायण सुवेदी, पर्यटनविद् जुद्ध गुरुङ लगायतले पर्यटन क्षेत्रमा बजेट कम बिनियोजन हुने गरेको र दक्ष जनशक्ति अभाव भएको गुनासो गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button