म्याग्दीमा खानेपानी आयोजना निर्माण

पोखरा न्यूज -०१, साउन ।
म्याग्दीको धवलागिरि गाउँपालिका– ७ ताकमका बासिन्दाले तीन वर्षको प्रयासमा रू दुई करोड ५१ लाख ३४ हजार ५४० को लागतमा खानेपानी आयोजना निर्माण गरेका छन् ।

कोतखोला तेस्रो खानेपानी तथा सरसफाइ योजनाबाट साविक ताकम गाविसको ३, ४, ५, ६ र ९ नं वडाका ३३० घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष देवबहादुर थापाले बताए ।

सो आयोजनाका लागि पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाबाट रु ७८ लाख ९९ हजार ८१४ र भारतीय दूतावासबाट रु ७५ लाख ७० हजार बराबरको निर्माण सामग्री प्राप्त भएको स्थानीय उपभोक्ताले रु १ करोड ६ लाख ६४ हजार ७२६ बराबरको श्रम तथा नगद लगानी गरेका थिए ।

काफलडाँडाका ३० घरलाई नौ वटा सार्वजनिक धारा र ताकमका ३०० घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको छ ।

प्रतिघर एक सय दिनका दरले रु ९५ लाख बराबरको श्रमदान गरेका उपभोक्ताले रु एघार लाख ७७ हजार नगदसमेत लगानी गरेका थिए । महिनौंसम्म श्रमदान गरेका उपभोक्ता घरमै शुद्ध खानेपानी आपूर्ति हुन थालेपछि खुशी भएका स्थानीयवासी खिमबहादुर खत्रीले बताए ।

मालिका गाउँपालिकाको जुक्जा र धौलागिरिको सिमानामा पर्ने कोटखोला, देउबुजा र हटिमुलको मुहानबाट प्रतिसेकेण्ड चार लिटरका दरले पानी आपूर्ति गरिएको छ । आयोजनाको दिगो सञ्चालन र उपभोक्ताको सुविधाका लागि मिटर सहितको निजी धारा जडान गरिएको छ ।

तेह्र वटा रिजर्भ ट्यांकीबाट खानेपानी वितरण गरिएको छ । यसअघि ताकमवासीको मागअनुसार आपूर्ति नहुँदा खानेपानीको समस्या हुँदै आएको थियो । बिहान ३ बजे उठेर धारामा पानी लिन जानुपर्ने समस्या अहिले हटेको स्थानीयवासी नीलकुमारी भण्डारीले बताए ।

घरघरमा खानेपानी आउन थालेपछि धाराबाट गाग्री, ग्यालिन, बाल्टीबाट खानेपानी ओसार्नुपर्ने बाध्यता हटेको वडाअध्यक्ष कलानिधि सुवेदीले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button