बाबियाचौर–झाँक्रेपानी पदमार्ग निर्माण शुरु

पोखरा न्यूज -०१, साउन ।

मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरदेखि पर्यटकीयस्थल झाक्रेपानी जोड्ने पदमार्ग निर्माण शुरु भएको छ । प्रशस्त पर्यटकीय सम्भावना बोकेर पनि पूर्वाधार र प्रचारप्रसारको कमीले ओझेलमा परेको झाँक्रेपानीलाई पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्ने उद्देश्यले गाउँपालिकाले पदमार्ग निर्माणको काम शुरु गरेको हो ।

यसवर्ष गाउँपालिकाको रु चार लाख अनुदान र स्थानीयवासीको एक लाख चालीस हजार ८०४ बराबरको श्रमदानमा अर्मनको पुलचोकदेखि गहतेतर्फ जाने उकालो बाटोमा करीब डेढसय मिटर पक्की सिँढी सहितको पद्मार्ग निर्माण भएको उपभोक्ता समितिका सचिव बलप्रसाद रोकाले बताए ।

उनका अनुसार २३ घनमिटर क्षेत्रफल रहेको पदमार्गमा २०० वटा सिँढी छन् । आगामी वर्ष गहते, नेटा हुँदै झाँक्रेपानीसम्म थप पद्मार्ग विस्तार गर्ने योजना रहेको सचिव रोकाले बताए ।

समुद्री सतहदेखि दुई हजार पाँच सय मिटरको उचाइमा अवस्थित मंगला गाउँपालिका– ३ नं वडामा पर्ने झाँक्रेपानीबाट अन्नपूर्ण, धौलागिरि, निलगिरि गुर्जा लगायतका हिमाल, पहाडी भूगोल, वनजंगल र सूर्योदयको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ ।

झाँक्रेपानीमा यसवर्ष गाउँपालिकाको रु दुई लाख सहयोगमा करिब एक सय मिटर पदमार्ग निर्माण गरी भ्यु टावर बनाउन जग खनिएको उपभोक्ता समितिका अध्यक्ष सोमबहादुर रोकाले बताए ।

यसैबीच अन्नपूर्ण गाउँपालिका– ५ शिखको घट्टे खोलामा पक्की पुल निर्माण भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को आर्थिक सहयोगमा स्थानीयवासीले श्रमदान गरेर आठ मिटर लामो पुल निर्माण गरेका हुन् । पुल निर्माण भएपछि शिख, तल्लो शिख, खिवाङ र पेनाला गाउँका बासिन्दालाई आवतजावतमा सहज भएको उपभोक्ता समितिका अध्यक्ष लीलाबहादुर राम्जालीले बताए

यसबाट करीब दुईसय घरधुरी लाभान्वित भएका छन् । पुल निर्माणका लागि एक्यापले रु एक लाख ४५ हजार उपलब्ध गराएको थियो । पुल निर्माणका लागि तल्लो शिख युवा क्लबले रु एक लाख लगानी गरेको उक्त क्लबका तुलबहादुर गर्बुजाले बताए । शिखलाई विश्व प्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्गले समेटेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button