दुई जीत हार पार्दै एपिएफ राष्ट्रिय भलिबलको शीर्ष स्थानमा

पोखरा न्यूज –०४, पुष ।

पोखरामा जारी राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबलाई पछि पार्दै अर्को विभागीय टोली सशस्त्र प्रहरी बल ( एपिएफ ) ले शीर्ष स्थानमा कब्जा गर्न सफल भएको छ । प्रतियोगिता अन्तर्गत बुधबारको दुई खेलमा जित हासिल गर्दै  एपिएफले १४ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको हो ।

मंगलबारसम्मको खेलमा अग्रस्थान कायम गरेको पुलिसलाई अर्को विभागिय टोली डिफेण्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबले समेत पछि पारेको छ । आर्मीको १२ अंक भएको छ भने पुलिसको १० अंक रहेको छ । त्यसै गरी हेल्थ नेपाल स्पोर्टस् क्लब ७ अंक, नयाँबजार युवा क्लब ६ अंक, मणिमुकुन्द भलिबल क्लबले ५ अंक ल्याएका छन् भने जावलाखेल भलिबल ट्रेनिङ क्लब र ढोरपाटन स्पोर्टस् क्लबले हालसम्म कुनै अंक जोड्न नसकेको अफिसियल तथा राष्ट्रिय रेफ्री राजन पौडेलले बताए ।

बुधबार भएको पहिलो खेलमा आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई १७–२५, २६–२४, २६–२४, ८–२५ र १५–२ को सेटमा पराजित गर्यो । दोश्रो खेलमा एपिएफले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–१२, २५–२१, २५–१५ को सोझो तीन सेटमा पराजित गर्दा तेश्रो खेलमा नयाँबजार युवा क्लबले जावलाखेल भलिबल ट्रेनिङ क्लबलाई २५–१९, २५–१७, २५–२१ को सोझो तीन सेटमा पराजित गर्यो । बुधबारको चौथो खेलमा डिफेण्डिङ च्याम्पियन त्रिभुवन आर्मीले पुलिसलाई सोझो तीन सेटमा पराजित गर्दा पुलिसले बुधबारको खेलमा कुनै अंक जोडन पाएन । आर्मीले पुलिसलाई २५–१९, २५–२१, २५–१५ को सोझो सेटमा पन्छाएको हो । बुधबारको अन्तिम खेलमा हेल्थ नेपालले एपिएफलाई वाकओभर दिएसँगै एपिएफले ३ अंक बटुलेको हो । बिहिबार ५ खेल हुने भएको अफिसियल एवं राष्ट्रिय रेफ्री गोपाल थापाले बताए ।

पोखरा भलिबल ट्रेनिङ सेन्टरमा भएको उक्त प्रतियोगिताको अवलोकनको लागि दर्शकले एक सय रुपैया शुल्क तिर्दै आएका छन्। पुष ७ गतेसम्म चल्ने प्रतियोगितामा विजेताले दुई लाख पुरस्कार पाउने छ । राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा पोखरामा भइरहेको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button