राष्ट्रिय पुरुष भलिबलको उपाधिको लागि आर्मी र एपिएफ भिड्ने

पोखरा न्यूज –०६, पुष ।

पर्यटकीय नगरी पोखरामा जारी आर.बि.बि.–एन.भि.ए. राष्ट्रिय पुरुष क्लब लिग भलिबल प्रतियोगितामा उपाधिका लागि डिफेण्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ भिड्ने भएका छन् ।

पुष एक गते देखि सुरु भएको प्रतियोगितामा आर्मी १८ अंक सहित शीर्ष स्थानमा रहदै फाइनलको यात्रा तय गर्दा एपिएफले १७ अंकका साथ फाईनलमा स्थान बनायो । विभागिय टोलीकै वर्चश्व रहेको प्रतियोगितामा तेस्रो स्थानका लागि अर्को विभागीय टोली नेपाल पुलिस क्लबले मनिमुकुन्द भलिबल क्लबको सामना गर्नेछ । लिग चरणमा पुलिसले १६ अंक ल्याएको छ भने मनिमुकुन्दले ११ अंक ल्याएको हो ।

शुक्रबार भएको खेलमा आर्मी, नेपाल पुलिस र एपिएफले जित हासिल गरे । दिनको पहिलो खेलमा आर्मीले नयाँबजार युवा क्लबलाई २५–१९, २५–२०, २५–१८ को सोझो सेटमा पराजित गर्यो भने मनिमुकुन्दले वाकओभर पायो । हेल्थ नेपाल स्पोर्टस् क्लब प्रतियोगिताबाटै बाहिरिएकोले मनिमुकुन्दले वाकओभर पाएको हो । यसै गरि तेश्रो खेलमा पुलिसले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–९, २५–२०, २५–२२ को सोझो सेटमा हरायो र लिगको अन्तिम खेलमा एपिएफले जाउलाखेललाई २५–१०, १६–२५, २५–१७ र २५–१२ को सेटमा पराजित गर्यो ।

प्रतियोगितामा विजेताले उपाधिसहित दुई लाख, उपबिजेताले एक लाख, तेश्रो हुनेले रू ५० हजार र सान्त्वना टोलीले रू २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यसै गरी प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाइ रू २५ हजार प्रदान गरिने छ भने उत्कृष्ट स्पाईकर, उत्कृष्ट व्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट सर्भरलाई जनही रु ५ हजारको साथमा ट्रफी प्रदान गरिनेछ ।

लिग चरणमा नयाँबजार युवा क्लबले ९ अंक, जावलाखेल भलिबल ट्रेनिङ क्लब र ढोरपाटन स्पोर्टस् क्लबले समान ३-३ अंक जोड्न सफल भए भने हेल्थ नेपाल स्पोर्टस् क्लबले ७ अंक जोड्न सफल भयो । हेल्थ नेपाल स्पोर्टस् क्लबले विदेशी खेलाडी सहभागी गराए पनि आवश्यक काजपत्र पेश गर्न नसके पछि उक्त क्लब प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको हो ।

राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा पोखरामा भएको प्रतियोगितामा तीन विभागीय सहित ८ टिमको सहभागिता रहेको अफिसियल एवं राष्ट्रिय रेफ्री गोपाल थापाले बताए । नेपाल भलिबल संघको आयोजना र पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघको व्यबस्थापनमा उक्त प्रतियोगिता संचालन भएको संघका सचिव डि.बि.नेपालीले बताए । त्यस्तै प्रतियोगिता संयोजक राजकुमार गुरुङले राष्ट्रिय खेलकुद परिषद, पोखरा महानगरपालिका, जिल्ला खेलकुद विकास समितिले उक्त प्रतियोगितालाई बिशेष सहयोग गरेको जानकारी दिए ।



सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button