राष्ट्रिय पुरुष भलिवलको उपाधि डिफेण्डिङ च्याम्पियन आर्मीलाई

उत्कृष्ट खेलाडी आर्मीका भट्ट

डिएनबी, पोखरा न्यूज – ७, पुष ।

पर्यटकीय नगरी पोखरामा शनिबार सम्पन्न भएको आर.बि.बि.–एन.भि.ए. राष्ट्रिय पुरुष क्लव लिग भलिवल प्रतियोगिताको उपाधि डिफेण्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लवले जितेको छ ।

हजारौं दर्शक माझ पोखरा रंगशालाको भलिवल ट्रेनिङ सेन्टरमा शनिबार भएको फाईनल खेलमा आर्मीले चिरपरिचित प्रतिद्धन्दी विभागिय टोली सशस्त्र प्रहरी वलको एपिएफलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि सहित दुई लाख पुरस्कार हात पार्न सफल भएको हो । आर्मीले एपिएफलाई १८–२५, २५–१९, २५–१८,१८–२५ र १७–१५ को सेटमा पराजित गरी यस बर्षको उपाधि पनि रक्षा गर्न सफल भएको हो । उपविजेता एपिएफले एक लाख सहित ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गरेको छ ।

उक्त प्रतियोगितामा विभागिय टोलीकै वचश्र्व रह्यो । अर्को विभागिय टोली नेपाल पुलिस क्लव तेश्रो भएको छ । शनिबारको खेलमा पुलिसले मनिमुकुन्द भलिवल क्लव –बुटवल, रुपन्देहीलाइ ३–० को सोझो सेटमा पराजित गर्दै ५० हजार पुरस्कार प्राप्त गरेको हो । शान्त्वना भएको मनिमुकुन्दले २५ हजार प्राप्त गर्यो ।

प्रतियोगितामा आर्मीका धन बहादुर भट्ट उत्कृष्ट खेलाडी घोषित भए । उनले २५ हजार पुरस्कार हात पारे । त्यसैगरी प्रतियोगितामा उत्कृष्ट स्पाईकरमा आर्मीका मान बहादुर श्रेष्ठ, उत्कृष्ट व्लकरमा एपिएफका विजय थापा, उत्कृष्ट सेटरमा पुलिसका यम राना, उत्कृष्ट लिब्रोमा आर्मीका ईश्वर आले, उत्कृष्ट सर्भरमा पुलिसका कुल बहादुर थापा (हरी), उत्कृष्ट प्रशिक्षकमा आर्मीका कपिल किशोर श्रेष्ठ घोषित भए । उनीहरुलाई जनहि ५ हजारको साटमा ट्रफी प्रदान गरिएको छ । फाईनल खेलमा दर्शकको बाक्लो उपस्थिती रहेको थियो ।

विजेता टिमका खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्वर तिमिल्सिना, गण्डकी प्रदेशका सांसद दिपक कोईराला, राखेपका सदस्य राजेश गुरुङ, पश्चिमाञ्चल भलिवल संघका अध्यक्ष छ्याम बहादुर थापा, सल्लाहकार नारायण शर्मा, नेपाल भलिवल संघका अध्यक्ष मनोरन्जनरमण शर्मा लगायतले पुरस्कार वितरण गरेका थिए ।

राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा पोखरामा भएको प्रतियोगितामा तीन विभागीय सहित ८ टिमको सहभागिता रहेको संघका सचिव डि.बी. नेपालीले जनाए । पुष एक गते देखि पोखरामा सुरु भएको प्रतियोगिताको फाईनल खेल अवलोकन गर्न दर्शकले २ सय रुपैया शुल्क तिरेका हुन। अन्य खेलमा भने दर्शकले एक सय तिरेका हुन।

नेपाल भलिवल संघको आयोजना, पश्चिमाञ्चल क्षेत्रिय भलिवल संघको व्यबस्थापनमा, राष्ट्रिय खेलकुद परिषद, पोखरा महानगरपालिका, जिल्ला खेलकुद विकास समितिले उक्त प्रतियोगितालाई बिषेश सहयोग गरेको प्रतियोगिता संयोजक राजकुमार गुरुङले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button