म्याग्दीमा करिब १ करोड लागतमा खानेपानी आयोजना सञ्चालन

पोखरा न्यूज – १२, वैशाख । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीमा गाउँवासीलाई खानेपानी उपलब्ध गराउन १ करोड ५ लाख लागतमा ‘एक घर एक धारा’ आयोजना अघि बढाइएको छ ।

गाउँपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा सो आयोजना अघि बढाइएको हो । चालू आर्थिक वर्षका लागि वडा कार्यालयले गौरवको आयोजनाको रुपमा छनोट गरेको ‘एक घर एक धारा’ अभियानमा रघुगङ्गा गाउँपालिकामार्फत रु ५५ लाख बजेट विनियोजन भएको छ भने प्रदेशसभा सदस्य विनोद केसीको पहलमा प्रदेश सरकारबाट रु ५० लाख विनियोजन भएको वडाध्यक्ष रिमबहादुर कटुवालले जानकारी दिए ।

स्थानीयस्तरमा रहेका खानेपानीका मुहान संरक्षण र स्रोतलाई एकीकृत गरी हरेक घरमा खानेपानी उपलब्ध गराइने भएको छ । उपभोक्ता समितिले आयोजनाको ट्याङ्की निर्माण र पाइपलाइन विस्तार गर्न थालेको छ । विभिन्न नौ ठाउँमा ट्याङ्की निर्माण गरी छरिएर रहेका खानेपानीका स्रोतलाई एकीकृत गरी घरघरमा खानेपानी पुर्याउने लक्ष्यसहित आयोजना शुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष भेषबहादुर भण्डारीले जानकारी दिए।

हरेक ट्याङ्की ३० हजार लिटर क्षमताका रहनेछन् । यस आयोजनाबाट भगवतीका ९५० घरधुरीका चार हजारभन्दा बढीमा शुद्ध खानेपानी उपलब्ध गराइने लक्ष्य छ । गाउँपालिकामार्फत विनियोजन भएको बजेट कार्यान्वयनमा अध्यक्ष भण्डारी र प्रदेश सरकारमार्फत विनियोजन भएको बजेट कार्यान्वयनमा मित्रलाल सुवेदीको अध्यक्षतामा उपभोक्ता समिति गठन भएर निर्माण कार्य शुरु गरिएको वडा कार्यालयले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button