मिडिया विधेयक संसोधन नभए पोखराबाट सशक्त्त अन्दोलन गर्ने चेतावनी

पोखरा न्यूज – ०६, असार । मिडिया काउन्सिल विधेयकको प्रावधान तत्काल संसोधन नभए पोखराबाट पनि सशक्त्त आन्दोलन गर्ने पत्रकारहरुले धम्की दिएका छन्। नेपाल पत्रकार महासंघ केन्द्रको आव्हानमा जारी तेश्रो चरणको आन्दोलन अन्तर्गत पोखरामा संकलन भएको हस्ताक्षर हस्तान्तरण कार्यक्रममा बोल्दै पोखराका पत्रकारहरुले यस्तो चेतावनी दिएका हुन्।

पोखराका विभिन्न ठाउँमा संकलन भएको उक्त हस्ताक्षर नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठको नेतृत्वमा महासंघ केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली, महासंघ गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेल लगायतले कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई हस्तान्तरण गरेका हुन् । प्रस्तावित मिडिया काउन्सिलमा राखिएका प्रेस स्वतन्त्रता विरोधी प्रावधान विरुद्ध पोखरामा संकलन भएको हस्ताक्षर नेपाल सरकारलाई जिल्ला प्रशासन कार्यालय कास्की मार्फत शुक्रबार पेश गरिएको हो ।

उक्त हस्ताक्षर बुझ्दै कास्कीका प्रमुख जिल्ला अधिकारी बुढाले आफुहरुले बुझेको उक्त हस्ताक्षर गृह मन्त्रालय सहित नेपाल सरकारलाई तत्काल पठाउने व्याबस्था मिलाएको बताए । उनले भने “मिडिया विधेयक राजनीतिक बिषय भएकोले यसको सम्वोधन जनप्रतिनिधिहरुले गर्ने होला तर हाम्रो काम सम्बन्धित ठाँउमा पुर्याउने हो र यो हामी तत्काल पठाउने छौं । ”

मानव अधिकार चोकबाट मंगलबार देखि पोखरामा सुरु भएको हस्ताक्षर अभियान सृजनाचोक, बाराहीचोक लगायतका क्षेत्रमा भएको थियो । पत्रकारलाई विभिन्न विधेयक ल्याएर समाचार लेखेकै भरमा २५ हजार देखि १० लाखसम्म जरिवाना सहितको दण्ड गर्नु अनुचित भएकोले त्यसको बिरुद्धमा तेश्रो चरणको आन्दोलनमा आफुहरु रहेको महासंघले जनाएको छ । नेपाल मिडिया काउन्सिल विधेयकको प्रावधान संसोधन नभए नेपाल पत्रकार महासंघ केन्द्रको निर्देशनमा महासंघ कास्की शाखाले पनि जस्तोसुकै आन्दोलन गर्न पछि नपर्ने अध्यक्ष श्रेष्ठले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button