पोखरामा राष्ट्रिय सीप प्रतियोगिताका विजेता बनेकी नेपालीलाई १ लाख नगद प्रदान

दीननाथ बराल, पोखरा न्यूज – ०७, असार । पोखरामा शुक्रबार सम्पन्न भएको पाक कलामा आधारित राष्ट्रिय सीप प्रतियोगितामा प्रदेश नम्बर ३ की सुनसरी नेपाली प्रथम भएकी छन्। पोखराको ग्राण्ड होटलमा १४ जना बिच भएको फाइनल चरणमा नेपालीले २ सय ४१.५ अंकका साथ प्रथम स्थान हासिल गर्न सफल भएकी हुन् ।

विजेता नेपालीले उक्त उपाधिको साथमा नगद एक लाख रुपैया पुरस्कार प्राप्त गरेकी हुन् । त्यसै गरी प्रदेश नम्बर ३ कै रमेश थापाले दोश्रो स्थान हासिल गरे । थापाले २ सय २७.५ अंकका साथ दोश्रो हुदै नगद ७५ हजार रुपैया प्राप्त गरेका हुन्। प्रदेश नम्बर ५ का ओमप्रसाद ढकालले २ सय २३ अंकका साथ तेश्रो हुदै ५० हजार रुपैया पुरस्कार प्राप्त गरेका हुन्। सातै प्रदेशका १ सय ६३ जना प्रतियोगिहरुबाट विभिन्न चरणमा छनौट गरी फाइनल चरणमा १४ जना छनौट भएका हुन्।

सिटिइभिटि, राष्ट्रिय सीप परीक्षण विभागको आयोजनामा, सुइस सरकारको प्राविधिक सहयोगमा, सुइस कन्ट्याकको सह-आयोजना, गेट भोकेसनलको समन्वयमा उक्त प्रतियोगिता नेपालमै पहिलो पटक भएको सिटिइभिटिका सदस्य सचिव रमेश बखतीले बताए । प्रतियोगिताको निर्णायकमा बरिष्ठ सेफ गोविन्द नर्सिङ केसी, एल.बी.कौशल, राजकुमार लामा रहेका थिए भने सेफ एशोसियसनका अध्यक्ष श्रीराम अधिकारीले अनुगमन गरेका थिए । नेपाल भ्रमण बर्ष मनाउने तयारी गरी रहदा नेपालमा प्राविधिक तथा दक्ष जनशक्ति अभाव भएको सन्दर्भमा यस्ता प्रतियोगिताले प्राविधिक जनशत्ति उत्पादन गर्न टेवा पुग्ने उद्धेश्यले उक्त प्रतियोगिता आयोजना गरिएको अध्यक्ष बखतीले जनाए ।

उक्त प्रतियोगिताको प्रमुख अतिथिको रुपमा सहभागि भएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले नेपालमा शैक्षिक बेरोजगार उत्पादन भइरहेको बेलामा प्राविधिक शिक्षा आजको आवश्यकता भएकोमा जोड दिए । गण्डकी प्रदेशका सांसद मीना गुरुङले प्राविधिक तथा सिप मुलक शिक्षाले देशमा रहेको बेरोजगार समस्या हटाउन सकिने दाबी गरिन । विगत दुई महिना देखि विभिन्न चरणमा छनौट हुदै फाईनल चरणमा ३ थरिका खाना पकाउने कलाको परिक्षण भएको गेट भोकेसनलका प्रवन्ध निर्देशक विवेक पौडेलले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button