दीननाथ बराल, पोखरा न्यूज – २९, असार । पोखराको विजयपुर खोलामा हाल निर्माण हुँदै गरेको बेलिब्रिज (पुल) १० दिन भित्रमा निर्माण कार्य सम्पन्न भई संचालनमा आउने भएको छ ।
विजयपुरमा करिब दश दिन भित्र बेलिब्रिज निर्माण भएसंगै डाइभर्सनको रुपमा प्रयोग भएको पुलको स्थानमा नयाँ संरचनामा निर्माण भएको बेलिब्रिज पुल संचालनमा आउने भएको सडक डिभिजन कार्यालय पोखराका सव इन्जिनियर किरण सुवेदीले बताए । उनका अनुसार स्टील जडानको काम करिब एक हप्ता लाग्ने भएको छ भने बाँकी ३ दिनमा पुल फिनिसिङ अन्तर्गत पुलको पूर्व-पश्चिम भागमा माटो ढुंगा सहितको लेवलिङ गरि पिच हुने छ ।
स्टील संरचनामा निर्माण हुने पुलमा हाल डोजरको सहायतामा मजदुर स्टील संरचनाको फिटिङमा जुटेको सगरमाथा (जेभि) कम्पनीका उद्धव राईले बताए । १२ देखि १३ टनको भारवान पुल संरचानाकै हुने र भारवान क्षमता करिब ५० टन हुने कम्पनीका राईले बताए ।
पुल निर्माण भएसंगै हाल स्थायी रुपमा प्रयोगमा ल्याइएको डाइभर्सन आवश्यक समेत नपर्ने पोखरा आउने ५० टन सम्मका भारवान क्षमताका गाडीहरु पुलबाट वारपार हुने भएको राईले जनाए । पुलको पूर्व र पश्चिम तर्फ जाली बुन्दै बिचमा आर्सिसि ढलान गर्नुपर्ने भएकाले निर्माणमा केही ढिलो हुन पुगेको उनले जनाए ।
गत वैशाख २४ गते ठेक्का कम्पनीले सम्झौता जेठ मसान्त भित्र सक्ने गरी सम्झौता गरेको थियो । करिब २ करोड २० लाखको लागतमा दुई लेनको पुल निर्माण हुन लागेको हो । विजयपुरको मोटरेबल पुलमा विगत ४ महिना देखि खाली ट्रक पनि संचालन भएका छैनन्।
गण्डकी प्रदेशको राजधानि पोखरा प्रवेशको मुख्यद्वार विजयपुर खोलामाथि अस्थायी रूपमा करिब ३ महिना संचालनमा ल्याएको डाइभर्सन गत हप्ता बाढीले बगाए पछि पुनः दुई दिनमै सडक डिभिजन कार्यालय पोखरा र चाईनिज सि.ए.एम.सी. कम्पनिको सहयोगले पुन:डाइभर्सन निर्माण भएको थियो ।
करिब एक दशक अघि निर्माण गरिएको पक्की मोटरेवल पुलको स्टिल बीम करिब ३ महिना अघि चर्केको थाहा भए पछि पुलमा जोखिमलाई मध्यनजर गरी १० टन भारवान क्षमतका गाडीहरु संचालनमा रोक लगाइएको हो ।