बाँकेमा बाढी: २ सय ५३ जना विस्थापित

पोखरा न्यूज- ०३, असोज ।  बाँकेमा वर्षापछि भएको डुबानका कारण खजुरा गाउँपालिकाका ६४ घरपरिवार विस्थापित भएका छन् ।तीन दिनअघिको वर्षाले घर डुबानमा परेपछि ६४ परिवारका २ सय ५३ विस्थापित भएको खजुरा गाउँपलिकाकी उपाध्यक्ष एकमाया विकले जानकारी दिइन ।

उनका अनुसार, विस्थापितलाई अस्थायी बसोबासका लागि गाउँपालिकाले पाल र खानाको व्यवस्था गरिदिएको छ । घरआँगन पूरै जलमग्न भएपछि खजुरा गाउँपालिकाका वडा नं ७ र ८ का सर्वसाधारण सडकमा बस्न बाध्य भएको स्थानीय मायाराम पासीले बताए । गाउँपालिकाले वितरण गरेको पालको साहरामा सडक किनारमा बस्दै आएको पासीले जानकारी दिए ।

वर्षाले खजुरा गाउँपालिका– ७ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय पनि डुबानमा परेको छ । डुबानका कारण विद्यालयको पठन पाठनसमेत प्रभावित भएको विद्यालयका प्रधानाध्यापक श्रवणकुमार खड्काले बताए । मानखोलामा आवश्यक तटबन्ध नहुँदा बर्षेनी डुबानको समस्या झेल्नुपरेको उनले बताए ।

अविरल वर्षापछि खजुरा गाउँपालिका-२ गौघाट, पुरैनी, वडा ५ र ६ उढरापुर, वडा नं ७ सिन्दुरेलगायतका ठाउँमा २ सय घरपरिवार विस्थापित भएको खजुरा गाउँपालिकाकी उपाध्यक्ष विकले जानकारी दिइन ।

विस्थापितमध्ये केहीलाई जनसेवा मावि र नेपाल आधाभूत विद्यालय सिन्दुरेमा राखिएको छ भने बाँकी सबै आफन्तको घरमा बसेका छन् । गाउँपालिका उपाध्यक्ष विकका अनुसार, वर्षा रोकिएपछि जनजीवन केही सामान्य बनेको छ । स्थानीयहरु विस्तारै आ–आफ्नो घर फर्किन थालेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button