संविधान कार्यान्वयनसंगै समृद्धि: मन्त्री थापा

पोखरा न्यूज – ०४, असोज ।  गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले नेपाली जनताको ठूलो वलिदानीबाट प्राप्त संविधान कार्यान्वयनसंगै मुलुकले समृद्धि प्राप्त गर्ने बताएका छन्  ।

संविधान दिवसको अवसरमा आज पोखरा महानगरपालिका वडा नं. १७ सितापाईलास्थित पोखरा वृद्धाश्रममा आश्रित जोष्ठनागरिकलाई फलफुल वितरण कार्यक्रममा बोल्दै उनले संविधानले सवैको हक र अधिकारलाई सुचिश्चित गरेको बताए ।

मानव सेवा जस्तो धर्म अरु कुनैपनि नभएको उल्लेख गर्दै उनले समाजका असहाय जेष्ठनागरिक, विपन्न वर्गका बालबालिको क्षत्रमा संलग्न विभिन्न संघ संस्थाका लागि प्रदेश सरकारको सहयोग रहेने जानकारी दिए ।

वृद्धाश्रममा आश्रित आमावुवालाई उत्पादनसंग जोड्नु पर्ने आवश्यकता औंल्याउँदै मन्त्री थापामगरले त्यसका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गरे ।

पोखरा वृद्धाश्रमका अध्यक्ष वसन्त केशव पराजुलीले आश्रममा विभिन्न जिल्ला र समुदायबाट आएका कठिन परिस्थितका ६५ जना वृद्धवृद्धा र १० जना सेवक सेवीका आवद्ध रहेको जानकारी दिए ।

आमा वुवालाई माया ममता दिएर घरमानै राख्ने र सहारा कोही पनि नभएका जेष्ठ नागरिकलाई मात्र वृद्धाश्रममा ल्याउनु पर्ने संस्कारको विकास आवश्यक रहेको उल्लेख गर्दै उनले मानव परोपकारी संस्थाहरुलाई सरकारीस्तरबाट सहयोग गर्नुपर्नेमा जोड दिए ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव अच्यूत प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा वृद्धाश्रमका उपाध्यक्ष कुसुमकेशव पराजुली, मन्त्रालयका उपसचिव बद्रीनाथ अधिकारी लगायतले वृद्धाश्रमले राज्यको दायित्व भन्दा माथि उठेर समाजका विपन्न एवम् असहाय जेष्ठनागरिकको सेवामा समर्पित रहेको बताए ।

प्रदेश सरकारले संविधान दिवसको तीनदिने कार्यक्रम अन्तर्गत आज अन्तिम दिन पोखरा र आसपासका बिभिन्न ६ वटा संघसंस्थामा आज फलफुल तथा आवश्यक भौतिक सामाग्री वितरण गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button